काठमाडौं। मंगलबार बिहान सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनाले उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
एयर डाइनेस्टीको लुक्ला विमानस्थलबाट फेरिचेका लागि उडेको ९ एन-एओडी हेलिकोप्टर र सोलुखुम्बुकै गोरक्षेपबाट फेरिचेका उडेको फिस्टेल एयर प्रालिको ९ एन-एजेआरको हेलिकोप्टर सोलुखुम्बु जिल्लाको फेरिचेमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
बिहान ८:१२ मा भएको यो दुर्घटनाले नेपाली उडान सुरक्षामा गम्भीर प्रश्न उठाएको हो। अवतरणको क्रममा हेलिकोप्टर एकआपसमा ठोक्किएको दुर्घटना भएको नेपालको इतिहासमा पहिलो पटक हो।
यो दुर्घटनाले ‘उड्डयन क्षेत्रमा यो हदसम्मको लापरवाही हुन्छ?’ भन्ने विषमया गम्भीर प्रश्न उठ्न थालेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकोप्टर उडान तथा अवतरणमा सँगै पाइदैन्। उडान तथा अवतरणको प्रोटोकल हुन्छ।
‘सामान्यतया एउटा हेलिप्याडमा एक समयमा एउटा मात्र हेलिकोप्टर उडान वा अवतरण गर्न अनुमति हुन्छ। पहिलो हेलिकोप्टर पूर्ण रूपमा अवतरण भई सुरक्षित रूपमा ग्राउन्ड खाली नगरेसम्म वा (पार्किङ वे)मा नपुगेसम्म अवतरण गर्न पाउँदैन,’ नागरिक उड्ययन प्राधिकरण स्रोतले भन्यो।
आपसी समन्वयको अभाव कि लापरवाही?
हेलिकोप्टर उडान वा अवतरण गर्ने सबै हेलिप्याडमा एटीसी र टावर हुँदैन्। दुर्घटना भएको क्षेत्रमा एयर ट्राफिक कन्टोलर(एटीसी) र टावर थिएन। प्राधिकरणका एक अधिकारीकाअनुसार एटीसी वा टावर नभएको ठाँउमा पाइलटहरुले एक आपसमा संवाद गरेर उडान वा अवतरण गर्ने प्रचलन हन्छ।
‘कतिपय ठाँउमा एटीसी हुँदैन्। एटीसी नहुँदा दुईवटा पाइटबीचमा एकआपसमा कम्युनिकेसन गरेर ल्यान्डिङ गर्ने प्रचलन हुन्छ। पहिले पुगेकोले पहिले ल्यान्डिङ गर्ने र त्यसपछिमात्र अर्कोले ल्यान्डिङ गर्ने हो। तर आजको भिडियो हेर्दा पाइलट प्रोटोकल, ल्याण्डिङ प्रोटोकल मिचिएको छ,’ स्रोतले भन्यो, ‘यसले हवाई क्षेत्रको लापरवाहीको हद सार्वजनिक भएको छ।’
प्राधिकरणका एक इन्जिनियरले हेलिकोप्टर एकआपसमा ठोक्किने घट्ना विरलै हुन्छन्। ‘युद्ध भएका बेला हेलिकोप्टर ठोक्किएका घट्ना छन्। तर मंगलबारको घट्नामा चरम लापर्बाही भएको देखिन्छ,’ उनले भने, ‘हाम्रो नियमन धेरै कमजोर भएको यो घट्नाले उजागर गरेको छ।’
उनका अनुसार पटकपटक हुने यस्ता दुर्घटनाले युरोपेली युनियनको कालोसूचीबाट हट्ने योजनामा गम्भीर धक्का लागिरहेको छ। ‘हामीले इयूको कालोसूचीबाट निस्किनका लागि योजना बनाइरहेका हुन्छौं। तर, वर्षेनि यस्ता लापर्बाहीका घट्ना भइरहन्छ,’ उनले भने, ‘यस्ता दुर्घटनाकै कारण इयूसँग बोल्ड भएर प्रस्तुत हुन सकेका छैनौं।’
यस्तो दुर्घटना कसरी ?
फेरिचेको दुर्घटना हेर्दा फिल्ममा एनिमेसन गरेकोजस्तो देखिन्छ। यो दुर्घटनालाई विभिन्न कोणबाट हेरिएको छ। एक हेलिकोप्टर पाइलट मानवीय भन्दा भन्दा हावाको वेगका कारण दुर्घटना भएको अनुमान गर्छन्।
‘हावाको तीब्र बेगका कारण ल्यान्डिङ गर्दागर्दै कन्ट्रोल नभएर दुर्घटना भएकोजस्तो देखिन्छ। पाइलटले जानाजान आफ्नो ज्यान जोखिममा पार्दैन,’ उनले भने, ‘सगरमाथा क्षेत्रमा तीब्र बेगको हावा आउने भएकाले यो प्रमुख कारण हुनसक्छ।’
उनलेनै ल्यान्डिङ गर्ने क्रममा अर्को हेलिकोप्टर घाम टल्किएर नदेखेका कारण पनि भएको हुनसक्ने अनुमान गरे। ‘भिडियो हेर्दा यी दुई कारणजस्तो देखिन्छ,’ ती पाइलटले भने, ‘यो अनुमान मात्रै हो। दुर्घटनाका कारणका लागि छानविन आयोगलेनै सबै पत्ता लगाउँला।’
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले दुर्घटनाको बारेमा अनुसन्धानपछि मात्रै भन्न सकिने बताए। ‘छानविन पछि मात्रै सत्यतथ्य आउँला। अहिलेनै अनुमानका आधारमा भन्न सकिँदैन,’ उनले भने।