BIZMANDU
www.bizmandu.com

एनएचपीसीको दाबी : दिल्लीमा ऊर्जा मन्त्रीको सचिवालय सदस्यसँग बैठक भएको छैन

२०८३ कात्तिक १७

एनएचपीसीको दाबी : दिल्लीमा ऊर्जा मन्त्रीको सचिवालय सदस्यसँग बैठक भएको छैन
एनएचपीसीको दाबी : दिल्लीमा ऊर्जा मन्त्रीको सचिवालय सदस्यसँग बैठक भएको छैन


काठमाडौं। भारतको जलविद्युत विकास संगठन एनएचपीसी लिमिटेडले ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका प्रतिनिधिहरुसँग भेट नभएको जनाएको छ।

GBIME
Tata

बिजमाण्डूले केही समय अघि दिल्लीमा ऊर्जा मन्त्रीका सचिवालय सदस्यहरुले एनएचपीसीका प्रतिनिधिसँग शंकास्पद भेट भएको समाचार प्रकाशित गरेको थियो।

एनएचपीसी लिमिटेडको तर्फबाट काठमाडौंमा रहेको शाखा कार्यालयले आज विज्ञप्ति निकालेर आफू भारतको निजी ऊर्जा कम्पनी नभएको जनाएको हो। उसले विज्ञप्तिमा आफू भारत सरकारको ऊर्जा मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल पब्लिक सेक्टर अन्डरटेकिङ’ प्रतिष्ठान रहेको जनाएको हो।

कम्पनीले द्विपक्षीय फ्रेमवर्क र औपचारिक नियमअन्तर्गत मात्र कार्य गर्ने गरेको पनि उल्लेख छ। नयाँ दिल्लीमा ऊर्जा मन्त्रालयका प्रतिनिधि वा मन्त्रिका सचिवालयका सदस्यहरुसँग एनएचपीसीका अधिकारीहरुको कुनै पनि किसिमको औपचारिक वा अनौपचारिक बैठक नभएको कम्पनीले दाबी छ।

कम्पनीले नेपालमा भइरहेका जलविद्युत आयोजना विकासलगायतका सम्पूर्ण छलफल तथा लगानीहरु औपचारिक च्यानलबाट मात्र हुने गरेको दाबी पनि गरेको छ। तर, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणमा नियुक्त गरेका अंशुकिरण शाहीले अनौपचारिक छलफल भएको बिजमाण्डूसँग स्वीकारेका थिए। ‘हामीहरुले वेट सिजनको बिजुली बिक्रीका लागि एनभीभीएनसँग कुरा गर्नुपर्ने थियो। त्यही सिलसिलामा उहाँहरुसँग भेट भएको हो। हामीले संस्थागत नभएर अनौपचारिक रुपमा भेट गरेका हौं,’ उनले बिजमाण्डूसँग दिल्लीबाट ह्वाटसएपमा भनेका थिए।

शाहीसँगै ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव संजीव महर्जन र स्वकीय सचिव केयुरमान सिंहले एनएचपीसीका उच्च अधिकारीलाई दिल्लीमा पुगेर भेटेको पुष्टि गरेका थिए। स्रोतका अनुसार अरुण तेस्रो बनाइरहेको एसजेभिएनको प्रतिनिधिसँग समेत भेटेका थिए।