युरोपका विभिन्न देशका सुपरमार्केटहरु साइबर आक्रमणको निशानामा परेका छन्। ह्याकरहरुले सुपरमार्केटका फ्रिज र फ्रिजरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुर्याइदिएपछि करोडौं युरो बराबरको खाद्यसामग्री नष्ट भएको छ।
बीबीसीका अनुसार ७ देशका दर्जनभन्दा बढी सुपरानर्केट ह्याकरको निशानसमा परेका हुन्। बेल्जियम र लक्जेम्बर्गका करिब ४० डेल्हेज सुपरमार्केटसहित स्वीडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, फिनल्यान्ड, एस्टोनिया र फ्रान्सका पसलहरु प्रभावित भएका छन्।
बेल्जियमको एउटै शाखाले १ लाख युरोभन्दा बढीको क्षति व्यहोरेको छ।
फ्रिज निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी सबकोबेलका अनुसार साइबर आक्रमणकारीहरुले फ्रिजका इभापोरेटरहरुलाई ’डिफ्रोस्ट मोड’ मा सेट गरिदिएका थिए। यसका लागि सफ्टवेयर अपडेट मात्र पर्याप्त नभई भौतिक सुधार नै आवश्यक पर्ने जनाइएको छ।
गत अगस्टमा अमेरिकी सैन्य बेसहरुमा भएको फ्रिज गडबडी र अक्टोबरमा फ्रान्समा भएको यस्तै आक्रमणसँग यसको सम्बन्ध छ/छैन भन्नेबारे अमेरिकी, बेलायती तथा युरोपेली साइबर सुरक्षा निकायहरुले अनुसन्धान गरिरहेका छन्।
हालसम्म आक्रमणकारीको पहिचान हुन सकेको छैन। सम्भावित आक्रमणको खतरालाई मध्यनजर गर्दै धेरै सुपरमार्केटका फ्रिजरहरुबाट सामान निकालेर राखिएको छ।
पछिल्लो समय बेलायतले यस्तै सम्भावित साइबर आक्रमण वा युद्धको अवस्था आउन सक्ने भन्दै आफ्ना नागरिकलाई केही दिनका लागि आवश्यक खाद्य सामाग्री जम्मा गरेर राख्न भनेको थियो।