काठमाडौं। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बागमतीदेखि पथलैयासम्मको सडक चार लेनमा विस्तार गरिने भएको छ।
कमला-ढल्केबर-पथलैया सडक योजना पश्चिम खण्ड अन्तर्गत मधेश प्रदेशको बागमती पुलदेखि पथलैयासम्म ५३.२०२ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो। काठमाडौं-तराई/मधेश द्रुतमार्गसँग जोडिने चोकको ९०० मिटर खण्ड भने यसमा समावेश छैन।
आयोजनाको डिजाइनअनुसार सडकको बीचमा मेडियन राखिनेछ भने दुवैतर्फ २.५ मिटरको पक्की सोल्डर निर्माण हुनेछ। शहरी क्षेत्रमा मुख्य सडकसँगै दुवैतर्फ ६.५ मिटरका सर्भिस लेन र सर्भिस लेनको बाहिरी किनारमा २ मिटरको साइकल ट्र्याकसमेत बनाइनेछ।
सडक स्तरोन्नतिका क्रममा २५ वटा पुल र ४८ वटा कल्भर्ट निर्माण गर्ने योजना छ। सडकले सर्लाहीको बागमती नगरपालिका, रौतहटका वृन्दावन, चन्द्रपुर र गुजरा नगरपालिका तथा बाराका निजगढ र कोल्हबी नगरपालिका तथा जीतपुरसिमरा उपमहानगरपालिकालाई समेट्नेछ।
कहाँ पुग्यो आयोजनाको तयारी?
आयोजनाका अनुसार सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएका दुईवटा ठेक्का मूल्यांकनको चरणमा छन्। बागमती पुल र बकैया पुल निर्माणका लागि भने ठेक्का सम्झौता भई निर्माण व्यवसायी साइटमा परिचालन भइसकेको आयोजना प्रमुख छविलाल पौडेलले बताए।
आयोजनाले सडक निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन, रुख कटान, विद्युत् पोल स्थानान्तरण र सडक सीमाभित्रका घरटहरा हटाउने प्रक्रिया पनि अघि बढाएको छ।
रौतहट र बारामा पर्ने वन क्षेत्रका रुख कटानका लागि प्रक्रिया पूरा गरी निर्माण व्यवसायी परिचालन भएपछि काम सुरु गर्ने तयारी रहेको प्रमुख पौडेलले बताए।
उनका अनुसार सडक सीमाभित्रका घरटहरा हटाउन मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको बैठक बसेर प्रतिवेदन तयार गर्ने काम सम्पन्न भएको छ। आयोजनामा कुल १७ अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ।