BIZMANDU
www.bizmandu.com

नेप्से सूचकांक गणनामा नयाँ बेन्चमार्क इन्डेक्सको तयारी,  सेबोनले किन फेर्दैछ?

२०८३ कात्तिक १६

नेप्से सूचकांक गणनामा नयाँ बेन्चमार्क इन्डेक्सको तयारी,  सेबोनले किन फेर्दैछ?
नेप्से सूचकांक गणनामा नयाँ बेन्चमार्क इन्डेक्सको तयारी,  सेबोनले किन फेर्दैछ?


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारको सूचकांक गणनालाई परिमार्जन गर्न लागेको छ। सेबोनले नेपाल स्टक एक्सचेन्जको सेयर कारोबार गणनामा नयाँ सूचकांक विकास गरेर सञ्चालनमा ल्याउन लागेको हो।

GBIME
Tata

अहिलेको नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्स कायम गरेर कारोबारयोग्य (फ्रि फ्लोट) सेयरका आधारमा नयाँ सूचकांक बनाइने भएको छ। अहिले नेप्से इन्डेक्सलाई समग्र सेयर बजारको प्रमुख परिसूचकका रूपमा गणना गरिंदै आएको छ।

यस सूचकांकमा अहिले बजारमा कारोबारमा नआउने संस्थापक सेयर समेत गणना गरेर बजार पुँजीकरण निकालिन्छ। जसको प्रभावस्वरुप बजारको आकार नै अवास्तविक भएको भन्दै प्रश्न उठ्ने गरेको छ।

सेबोनले यसलाई फेरेर फ्रि फ्लोट इन्डेक्सका आधारमा सूचकांक गणना गर्न लागेको छ। बजारको वास्तविक आकार देखाउन फ्रि फ्लोट इन्डेक्समार्फत नेप्से सूचकांक गणना गर्न बेन्चमार्क सूचकांक ल्याउन लागिएको हो।

सेबोनका अध्यक्ष डा. गोपाल भट्टले नेप्से सूचकांक पुनर्संरचनाको काम मंसिरभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी रहेको बताए।

‘बजारमा नयाँ उपकरण सञ्चालनका लागि हामीले नयाँ बेन्चमार्क सूचकांक तयार पार्न नेप्सेलाई निर्देशन दिइसकेका छौं। मंसिरभित्रै नेप्से बेन्चमार्क इन्डेक्स सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ उनले भने, ‘त्यसपछि बजारमा इन्डेक्स फन्ड, इटीएफ र डेरिभेटिभ्स् जस्ता आधुनिक वित्तीय उपकरण सञ्चालनमा ल्याउनेछौं। यसका लागि समिति बनाएर अध्ययन भइरहेको छ।’

नेप्सेले बजारमा अहिले नेप्से इन्डेक्स बाहेक कारोबारयोग्य सेयरका लागि मात्रै फ्लोट इन्डेक्स राखेको छ। यही इन्डेक्सका आधारमा कारोबारयोग्य सेयरको गणना हुने गरेको छ। तर, बजारमा मुख्यरुपमा नेप्से इन्डेक्स नै गणना गरिँदै आएकामा त्यसलाई परिमार्जन गर्न लागिएको छ।

कम्पनीको आइपीओ निष्कासनपछि संस्थापक सेयरमा लकइन लागू हुन्छ। संस्थापकहरुले लकइन अवधिमा सेयर बिक्री गर्न पाउँदैनन्। तर, दोस्रो बजारमा सर्वसाधारणलाई बिक्री गरेको सेयर कारोबार हुने मूल्यका आधारमा कम्पनीको पुँजीकरण गणना गर्ने गरिएको छ।

यसबाहेक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर दोस्रो बजार मूल्यमा किनबेच हुँदैन। बजारको अवास्तविक आकारलाई सूचकांक गणना परिमार्जन गरेर वास्तविक बनाउन लागिएको सेबोनका अधिकृतहरु बताउँछन्।

नेप्सेले यसका लागि कारोबारयोग्य सेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन, सूचना प्रवाहको स्थिति जस्ता सूचकलाई आधार बनाउन लागेको छ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवालले बजारको वास्तविकता देखिनका लागि सूचकांक गणना फेर्न आवश्यक रहेको बताए।

‘फ्रि फ्लोट इन्डेक्सलाई बेन्चमार्क इन्डेक्स मान्दा त्यसपछि सर्वसाधारणको हिस्साको कारोबारयोग्य सेयर मात्रै गणना हुन्छ। अहिलेको बजारमा नेप्से इन्डेक्स सबै कम्पनीको सबै सेयरको बास्केट हो,’ अग्रवालले भने, ‘जुन कम्पनीको लकइनमा भएको कारोबारमा नआउने संस्थापक सेयरले पनि बजार क्यापलाई तलमाथि गर्छ। त्यसले गर्दा नेप्सेको सूचक बजारको वास्तविक ब्यारोमिटर हो कि होइन भन्ने प्रश्न छ। बजारको वास्तविक पफर्मका लागि फ्रि फ्लोट इन्डेक्स नै महत्पूर्ण हुन आउँछ।’

नेप्से सूचकाङ्कलाई अल इक्विटी इन्डेक्सको रूपमा कायम गरेर कारोबारयोग्य सेयरको आधारमा नयाँ सूचकांक विकास गर्न सेबोनले कार्यपत्र ल्याइसकेको छ।

सेबोनले फ्रि फ्लोट सेयरलाई बेन्चमार्क सूचकांकको रुपमा प्रयोग गरेर त्यसकै आधारमा सर्किट ब्रेकरमा समेत हेरफेर गर्ने तयारी गरेको छ। बजारमा अहिले नेप्से इन्डेक्सका आधारमा सूचकांक गणना गरिँदै आएको छ। यही सूचकको घटबढका आधारमा कारोबारमा सर्किट ब्रेकरको सीमा तोकिएको छ।

नेप्से इन्डेक्स सूचीकृत सेयरको वर्तमान कुल बजार पुँजीकरण र आधार वर्षको बजार पुँजीकरणको अनुपातमा आधारित भ्यालु वेटेज इन्डेक्सका रूपमा छ। नेप्सेले ११ सेप्टेम्बर २००८ लाई आधार मिति मानेर नेप्से फ्लोट इन्डेक्स गणना गर्दै आएको छ।

फ्लोट इन्डेक्समा संस्थापकले धारण गरेको सेयरबाहेक बजारमा कारोबारका लागि उपलब्ध सेयरलाई आधार बनाएको छ। सेबोनले यही इन्डेक्सलाई बेन्चमार्क बनाएर सूचकांक गणना गर्न लागेको हो।

धितोपत्र बजारमा बेञ्चमार्क सूचकांकको पुनर्संरचना सम्बन्धी कार्यपत्रमा नेप्से अल इक्विटी इन्डेक्स र नेप्से फ्लोट सूचकांकको अवधारणा/आधारलाई परिष्कृत गरी नेप्से बेन्चमार्क इन्डेक्स बनाउन प्रस्ताव गरिएको छ।

‘नेपालको पुँजी बजार विस्तार, संस्थागत लगानीकर्ताको बढ्दो भूमिका, निष्क्रिय लगानीको सम्भावित विकास, इन्डेक्स-लिंक्ड प्रडक्टको आवश्यकता, अन्तर्राष्ट्रिय तुलनात्मकता तथा बजारको वास्तविक लगानीयोग्यतालाई प्रतिबिम्बित गर्ने आवश्यकता बढ्‌दै गएको अवस्थामा हालको नेप्से इन्डेक्सलाई नै प्रमुख बेन्चमार्कका रुपमा कायम राखुको सट्टा फ्रि फ्लोट एड्जस्टेड मार्केट क्यापिटलाइजेसनमा आधारित आधुनिक बेन्चमार्क इन्डेक्स विकास गर्नु आवश्यक देखिन्छ,’ सेबोनले तयार पारेको कार्यपत्रमा उल्लेख छ ।

नयाँ बेन्चमार्क इन्डेक्सले लगानीयोग्य बजारको वास्तविक प्रफर्मेन्स मापन गर्ने, प्रोर्टफोलियोको पर्फर्मेन्स बेन्चमार्क विकास गर्ने, म्युचुअल फण्ड, इन्डेक्स फण्ड र इटिएफका लागि बेन्चमार्क उपलब्ध गराउन फेर्नुपर्ने आवश्यकता रहेको सेबोनको कार्यपत्रमा उल्लेख छ।

सेबोनले कार्यपत्रमा नयाँ सूचकाङ्कको विकाससँगै बजारमा इन्डेक्स फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड (इटिएफ), र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरू भित्र्याउन कानुनी र नीतिगत फ्रेमवर्क बनाइने उल्लेख गरेको छ।

बजारमा अब योसँगै नेप्से अल इक्विटी इन्डेक्स, नेप्से बेन्चमार्क इन्डेक्स, लार्ज/मिड/स्मल क्याप इन्डेक्स र सेक्ट्रल बेन्चमार्क हुनेछन्। क्षेत्रगत रुपमा अहिले १३ वटा उपसूचकांकहरुमार्फत कम्पनीको सूचकांक गणना हुँदै आएको छ।