काठमाडौं। ‘कामना सेवा फुट्सल कप’को छैठौं सिजनमा पुरुषतर्फ कुमारी बैंकले उपाधि जितेको छ। आइतबार भएको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३-२ गोलले पराजित गर्दै उपाधि जितेको हो।
त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइ ब्रेकिङमा ३-२ गोलले पराजित गर्दै यस सिजनको उपाधि हात पारेको छ।
कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको जनाएको छ। धन्यन्तरी फुट्सलमा भएको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख संचालन अधिकृत लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीहरूको समेत उपस्थिति थियो।
प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च तथा इकोनोमिक मिडिया एसोसिएसनबीच मैत्रीपूर्ण खेलहरू आयोजना गरिएको थियो।
प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। समापन समारोहमा समेत बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।