काठमाडौं । रसिया र युक्रेन दुवै देशका आपत्कालीन चेतावनी प्रणाली (इमरजेन्सी अलर्ट सिस्टम) साइबर आक्रमणको शिकार भएका छन्।
मस्कोको आपत्कालीन मन्त्रालयले ‘विशाल साइबर आक्रमण’ले भ्रमपूर्ण सूचना फैलाउने जोखिम बढाएको जनाएको छ।
यद्यपि, सार्वजनिक चेतावनी प्रणाली भने सामान्य रुपमै संचालनमा रहेको दाबी गरिएको छ।
त्यसअघि युक्रेनको हवाई हमला चेतावनी एप पनि ह्याक भएको थियो। त्यसपछि गलत चेतावनी जारी भएको थियो। दुवै देशले यसको जिम्मेवारी एकअर्कामाथि लगाएका छन्।
यसैबीच, दुवै देशले एकअर्काको ऊर्जा पूर्वाधार केन्द्रहरुमा ड्रोन तथा हवाई आक्रमण गरेका छन्।
मस्को पूर्वी भेगमा युक्रेनी ड्रोन आक्रमणबाट ठूलो क्षति पुगेको बताइएको छ। रसियाले पनि युक्रेनका चार ऊर्जा पूर्वाधारहरुमा रातभर आक्रमण गरेको बताइएको छ।