काठमाडौं। जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुरले पोखरालाई ९ रनले हराएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैददानमा टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखरा १३८ रनमा समेटियो।

पोखराका लागि कुशल भुर्तेलले ३५ तथा विपिन आचार्य र किरण ठगुन्नाले समान १५ रन बनाउँदा तथा विपिन खत्रीले अविजित १७ रन बनाए। त्यसबाहेक जनकपुरको कसिलो बलिङसामू अन्य ब्याटर चल्नै सकेनन्।
कसिलो बलिङ गर्दै मोइन अलीले आफ्नो स्पेलमा मात्रै १३ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै हरमीत सिंह र सैफ हसनले समान २ विकेट लिँदा ललित राजवंशी र जिम्मी निशमले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रन बनाउने क्रममा ५५ बलमा ६१ रन बनाए। त्यस्तै, अभिषेक तिवारीले अविजित २४ रन बनाउँदा मोइन अलीले २१ तथा जिम्मी निशमले ११ रन बनाए।

जनकपुरलाई ठूलो स्कोरसम्म पुग्न नदिन पोखराका सकिव अल हसनले घातक बलिङ गरेका थिए। हसनले आफ्नो स्पेल बलिङ गर्दै मात्रै १५ रन दिएर ३ विकेट लिए। त्यसबाहेक चकिका करुणारत्ने, मेहदी हसन र मोहम्मद सैफुद्धिनले समान १ विकेट लिए।

योसँगै पोखरा दुई खेल खेल्दा अझै जितविहीन छ। अर्कोतर्फ तेस्रो खेल खेल्दा दोस्रो जित निकालेको जनकपुरले ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

सोमबार एनपीएलमा दुईवटा खेल हुनेछन्। पहिलो खेलमा कर्णाली र काठमाडौं भिड्ने छन् भने दोस्रोमा सुदूरपश्चिम र चितवन राइनोज भिड्नेछन्।