काठमाडौं। चीनबाट गाडी ल्याउने बाटो अवरुद्ध हुँदा समस्या खेपेका अटो व्यवसायीलाई अहिले सवारी दर्ता प्रक्रियाले थप तनाव दिएको छ।
कोरला नाकाबाट काठमाडौंमा गाडी ल्याउन बाढी पहिरोका कारण ढिलाइ भइ यसपालिको दसैंमा व्यापार नै विग्रिएको अवस्थामा भन्सार जाँचपास भएको १५ दिनभित्र दर्ता गर्नुपर्ने कानुनी व्यवस्थाले व्यवसायीलाई तनाव दिएको हो। उनीहरुले गाडी दर्तामा जरिवानाको भार सहनुपर्ने भएको छ।
यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवले कानुनमा नै भन्सार जाँचपास भएको १५ दिनभित्र नयाँ सवारीसाधन दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेकाले समयसीमा नाघेका गाडीका हकमा जरिवाना लिनुको विकल्प नरहेको बताए।
‘हामी कर्मचारीले कानुनीरुपमा छुट दिन मिल्दैन। सरकारले परिस्थितिलाई मध्यनजर गरेर दर्ता प्रक्रियामा सहजीकरण गर्न सक्छ। यसका लागि मन्त्रीस्तरबाटै निर्णय हुनुपर्छ,’ यादवले भने, ‘माथिबाट केही निर्णय नभएसम्म हामीलाई ऐनमा भएको व्यवस्था बाहिर जाने अधिकार छैन।’
भन्सार जाँचपास भएको १५ दिन कटेपछि सवारीसाधन दर्ता गर्न प्रति गाडी ७ हजार ५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ।
व्यवसायीले आफ्ना कारण नभइ बाटोमा अवरोधका कारण गाडी ल्याउन ढिलाइ भएको भन्दै जरिवाना छुटका लागि सरकारसँग आग्रह गरेका छन्।

‘भन्सार जाँचपासपछि गाडी ल्याउन ढिलाइ हुनुमा हाम्रो कुनै दोष छैन। बाढीले बाटो नै अवरुद्ध भएपछि गाडी समयमा ल्याउन नसकेको सबैलाई जानकारी भएकै विषय हो। यस्तो बेला पनि सवारी दर्तामा जरिवानाको डण्डा चलाउनु हामीमाथि ठूलो अन्याय हुनेछ,’ एक अटो व्यवसायीले भने, ‘त्यसैले सरकारले बाटोले समस्या परेको अहिलेको अवस्थामा जरिवाना लिनु हुँदैन भन्ने हाम्रो भनाइ हो।’
बागमती प्रदेश सरकार मातहतको सानाठूला सवारी दर्ता कार्यालयका वरिष्ठ शाखा अधिकृत रोहित पोखरेलका अनुसार जरिवाना छुटका विषयमा असोज मध्यतिर नै छलफल भएको थियो। तर, अहिलेसम्म कुनै निर्णय भएको छैन।
‘कम्पनीहरुले पनि हामीलाई ताकेता गरिराख्नुभएको छ। भन्सारसँग छलफल भएको हो। तर, अहिलेसम्म कुनै निर्णय आएको छैन,’ पोखरेलले भने।
गत भदौ १० गते रसुवामा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनबाट गाडी ल्याउने व्यवसायीले वैकल्पिक नाकाको खोजी गर्नुपरेको थियो। तर, एक मात्र विकल्प बनेको कोरला नाका हुने आयात असोज ८-११ को वर्षाले कालीगण्डकी करिडोरअन्तर्गतका सडक अवरुद्ध भएपछि प्रभावित भएको थियो। भन्सार जाँचपास भइसकेका गाडी दुई साता बीच बाटोमै अड्किएका थिए।
दसैंको मुखमा खुलेको सडकमा सुरुमा बाटोमा रोकिएका ठूला मालवाहक सवारीसाधनलाई प्राथमिकता दिइएका कारण व्यवसायीले नयाँ सवारीसाधन ल्याउन थप समय कुर्नुपरेको थियो।

दसैं बिदामा सवारी दर्ता कार्यालय बन्द रहे। दसैंपछि दर्ता प्रक्रिया अघि बढाउन भन्सार जाँचपास गरेको १५ दिन कटिसकेको थियो।
गाडी ल्याउन समस्यै समस्या
कालीगण्डकी करिडोरको सडक सञ्चालननमा आए पनि चीनबाट नेपालमा विद्युतीय गाडी ल्याउने प्रक्रिया सहज हुन सकेको छैन। चालक र चार्जिङ पूर्वाधारको अभावले व्यवसायीलाई गाडी ल्याउन कठिन भइरहेको छ।
एक व्यवसायीका अनुसार भन्सार पास भएका गाडी समयमै काठमाडौं ल्याउन चालक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ। उच्च हिमाली र कठिन भौगोलिक अवस्था भएकाले कोरलाबाट गाडी ल्याउनका लागि तराईबाट चालक लान सहज छैन। स्थानीय भूगोल र बाटोको अवस्था बुझेका चालक नै खोज्नुपर्ने बाध्यता छ।
उच्च उचाइमा खानपिन र बसोबासको समेत समस्या हुने भएकाले चालक व्यवस्थापन थप चुनौतीपूर्ण बनेको ती व्यवसायीले बताए। आवश्यक संख्यामा चालक उपलब्ध नहुँदा एकैपटक धेरै गाडी तल ल्याउन सकिएको छैन।
त्यस्तै, चीनतर्फबाट एकैपटक सबै गाडी नेपालतर्फ ल्याउन पनि कठिन छ। नेपाल र चीनको भन्सारबीच करिब २० किलोमिटर दूरी रहेकाले चीनबाट ल्याएका गाडी पार्किङमा राख्नुपर्ने अवस्था छ। यसले ढुवानीमा थप समय लाग्ने गरेको छ।
विद्युतीय गाडी ल्याउन चार्जिङ पूर्वाधारको समस्या पनि उत्तिकै छ। विशेषगरी डीसी चार्जिङका लागि आवश्यक विद्युत् उपलब्धता र पर्याप्त चार्जिङ नेटवर्क नहुँदा गाडी ओसारपसार गर्न कठिन भइरहेको ती व्यवसायीको भनाइ छ।
यसका अतिरिक्त एजेन्ट व्यवस्थापनमा पनि समस्या देखिएको छ। एउटै एजेन्टमार्फत विभिन्न ब्रान्डका गाडीको ढुवानी तथा भन्सारसम्बन्धी काम गर्नुपर्ने हुँदा समन्वय गर्न कठिनाइ भइरहेको अर्का व्यवसायीले बताए।