काठमाडौं। सरकारले साढे तीन वर्षपछि दूधको मूल्य बढाउने तयारी थालेको छ। उत्पादन लागत, छिमेकी देश भारतको मूल्य, मुद्रास्फीति लगायत अध्ययन गरेर कृषि, वन तथा पर्यावरण मन्त्रालयले दूधको मूल्य बढाउने तयारी गरेको हो।
‘तीन वर्षदेखि दूधको मूल्य बढेको छैन। किसानको उत्पादन लागत, अन्य प्राविधिक पक्ष हेरेर मूल्यबारे निर्णय हुन्छ,’ राष्ट्रिय दुग्ध विकास बोर्डका निमित कार्यकारी निर्देशक डा. बालक चौधरीले बिजमाण्डूसँग भने, ‘हामी अहिले छलफलकै चरणमा छौं।’
सरकारले पछिल्लोपटक २०७९ फागुन १९ गते दूधको मूल्य लिटरमा ९ रुपैयाँ १० पैसा मूल्य बढाएको थियो।
नेपाल डेरी उद्योग संघले एक महिनाअघि बोर्डमा लिटरमा १० रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको थियो। त्यो प्रस्तावपछि अध्ययन गरेर मूल्य बढाउन लागिएको हो।
चौधरीले उद्योगीको प्रस्तावका आधारमा नभइ अध्ययनका आधारमा लागत तय गरेर मूल्य बढाइने जानकारी दिए।
दूधको मूल्यको ६८ प्रतिशत किसानले पाउने गरेका छन्। संघले लिटरमा ६.८० रुपैयाँ किसानले र डेरीले ३.२० रुपैयाँ पाउने गरी मूल्य बढाउन प्रस्ताव गरेको हो।

संघका निवर्तमान अध्यक्ष एवं नेपाल डेरीका प्रबन्ध निर्देशक अरनिको राजभण्डारीले दूधको मूल्य नबढेकै कारण सीमा क्षेत्रका किसानले भारतमा बेच्न थालेको जानकारी दिए। ‘भारतमा दूधको मूल्य बढेको छ। त्यसैले हाम्रा किसानले भारतमा दूध लगेर बेच्दा हामी समस्यामा परिसकेका छौं,’ उनले भने, ‘अहिले नै हामीले किसानसँग लिटरमा ४ रुपैयाँ बढी तिरेर दूध किनिरहेका छौं।’
उनका अनुसार सीमा क्षेत्रबाट १५ प्रतिशतसम्म दूध उता जाँदा यहाँ अभावकै अवस्था आएको छ। ‘हेर्नुस् अघिल्लो वर्षको कात्तिक महिनामा हाम्रो पाउडर प्लान्टमा दूध बोकेका गाडीको लाइन हुन्थ्यो। हामीलाई पाउडर बनाउन भ्याइनभ्याइ हुन्थ्यो। अहिले बटरदेखि दुग्धजन्य उत्पादन बनाउन पनि दूध पाउन कठिन भइरहेको छ,’ राजभण्डारीले भने, ‘हामीले दसैंका बेलामा पनि किसानलाई विन्ती बिसाएर दूध संकलन गरेर बटर बनाएका थियौं।’

अगस्टदेखि भारतका विभिन्न राज्यमा दूधको मूल्य बढेको छ। कर्नाटकमा आइतबारदेखि लागू हुनेगरी दूधको मूल्य न्यूनतम ८ भारु बढेको छ। महाराष्ट्रको पुणेमा अगस्ट ११ देखि लिटरमा २ भारु र त्यही राज्यको मुम्बइमा सेप्टेम्बरदेखि ९ भारु बढेको छ। भारतमा दाना, घाँस, ढुवानी तथा प्याकेजिङको भाउ बढेको भन्दै दूधको मूल्य बढाइएको हो।
प्याकेजिङदेखि दानासम्म भारतमै परनिर्भर रहेकाले नेपालमा मूल्य बढाउनुको विकल्प नरहेको राजभण्डारीको जिकिर छ।
‘दानाका धेरै कच्चा पदार्थ तेस्रो मुलुक र भारतबाट आउने हो। प्याकेजिङका सामान पनि त्यही हो। त्यहाँबाट ल्याउँदा र त्यहाँको खपतभन्दा कम हुने भएकाले मूल्य पनि झन् धेरै पर्छ,’ उनले भने, ‘भारतका किसानलाई अनुदानले धेरै लाभ छ। त्यसैले यी सबै कारण मूल्य बढाउनुको विकल्प छैन।’
राजभण्डारीले मूल्य बढाउन ढिला गरे दूध उत्पादनमै ठूलो असर गर्ने दाबी गरे।
‘अहिले प्रधानमन्त्रीज्यूले दुग्ध विकास संस्थानको उत्पादन प्रवर्धन गरेर बस्नुभएको छ। उ घाटामा जाँदा पनि सरकारले पैसा दिएर जोगाउला,’ उनले भने, ‘डीडीसीको बजार ३० प्रतिशत मात्रै हो। उसले ३० प्रतिशत दूध किनेर मात्रै धान्दैन। त्यो बेलामा हामीजस्तf निजी डेरीले मूल्य तिर्न नसकेपछि किसानले कहाँ लगेर दूध बेच्छन् ? उनीहरुको उत्पादन नबिक्दा राज्यलाई नै घाटा होला नी।’

नेपालगञ्जमा रहेको एसके डेरी इन्डस्ट्रिजका अध्यक्ष सरोज पाण्डे पनि दूध छेलोखेलो हुनुपर्ने समयमा अभाव भएर दुग्धजन्य पदार्थ उत्पादनमै धक्का लागिसकेकाले मूल्य तत्कालै पुनरवलोकन गर्नुपर्ने बताउँछन्।
‘खुला सीमाका कारण यताबाट भारत जानु र भारतबाट आउनु स्वाभाविक प्रक्रिया हो। अहिले भारतमा मूल्य पाएकै कारण केही दूध त्यता गएकाले हामीले समस्या भोगिरहेका छौं,’ उनले भने, ‘राज्यले यो समस्यालाई बुझेर पक्कै पनि उपयुक्त समाधान निकाल्छ भन्ने हामीले आशा राखेका छौं।’