काठमाडौं। संसद्मा क्यान्टिन (चमेना गृह) सञ्चालनको जिम्मेवारी कञ्चन उत्पलाले पाएको छ। संसद् सचिवालयले गरेको टेण्डरमा उत्पलाले क्यान्टिन संचालनको जिम्मेवारी पाएको हो।
टेण्डरमा सोल्टी होटल, ओरियन्ट क्याफे, पातलेवन रिसोर्ट, कञ्चन उत्पला जेभी, सुपर गुडविल सर्भिस, सीएमएस हस्पिटालिटी र स्टिम पिक इन्टरनेसनलले गरी ७ वटाले आवेदन हालेका थिए। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ठेक्का पाएको उत्पलासँग सम्झौतापछि नयाँ क्यान्टिन सञ्चालन हुने बताए।
क्यान्टिन सञ्चालनका लागि ल्याण्डमार्कले सचिवालयसँग गरेको सम्झौता अनुसार २०८३ असार अन्तिममा सकिएपछि सोल्टी होटललाई सचिवालयले पुरानै मूल्यमा खाजा उपलब्ध गराउने गरी क्यान्टिन सञ्चालनको जिम्मा दिएको थियो।
सिंहदरवारको निर्माणाधीन नयाँ संसद् भवनमा सञ्चालनमा रहेको क्यान्टिन महँगो भएको भन्दै सांसद खगेन्द्र सुनारले प्रतिनिधि सभाको बैठकमा विरोध गरेपछि बन्द भएको थियो। अब उत्पलाले संसद् सचिवालय र संसद् भवन दुवै ठाउँमा क्यान्टिन सञ्चालन गर्नेछ।