काठमाडौं। भूमिहीन र सहकारी पीडितका गुनासा सुन्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सोमबार झापा जाने भएकी छन्।
मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीका साथै सहकारी पीडित र भूमिहीन तथा सुकुम्बासीसँग अन्तर्क्रिया गर्ने उनको सचिवालयले जनाएको छ।
मन्त्री रावलले अन्तर्क्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजनाबारे जानकारी गराउने छिन्। उनले केही दिनअघि चितवन पुगेर त्यहाँका भूमिहीन र सहकारी पीडितसँग अन्तर्क्रिया गरेकी थिइन्।