काठमाडौं । जर्मनीको फ्र्याङ्कफर्टसहित विभिन्न प्रमुख शहरहरूमा युवाहरुले हिंसात्मक प्रदर्शन गरेका छन्।
महँगी लगायतको विरोधमा आयोजित प्रदर्शनका क्रममा हिंसा र झडप भएको हो।
प्रदर्शनका क्रममा पसलहरूमा लुटपाटसमेत गरिएको थियो। अवस्था नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ।
फ्र्याङ्कफर्टसँगै राजधानी बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन्।
आन्दोलनकारीहरूले उद्धारकर्मी तथा प्रहरीमाथि पटका, ढुंगा र बोतल प्रहार गरेका थिए। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो।
युवाहरूको अभियान समूह जेन जी रेगेल्टूद्वारा आयोजित प्रदर्शनमा हजारौं मानिस सडकमा उत्रिएको बताइएको छ।
उनीहरूले विद्यालयहरूमा बजेटको कमी, महँगो जीवनयापन, सार्वजनिक खर्चमा कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा प्रदर्शन गरेका हुन्।
हिंसा भड्किएपछि फ्र्याङ्कफर्टको मुख्य व्यापारिक पैदल मार्ग प्रहरीले बन्द गरेको थियो। थुप्रै प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ।