काठमाडौं। अम्बे स्टिलको कारखानाका आगलागी भएको छ। बाँकेको जानकी गाउँपालिका-५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आइतबार बिहान आगलागी भएको हो। आगलागीमा परी ८ जना घाइते भएका छन्।
बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रति भट्टी २५ टन क्षमताको)मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको उद्योगले जनाएको छ।
आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना छन्। घाइतेलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ८:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।