काठमाडौं। विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि रवाफिलो जित निकालेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै विराटनगरले आफ्नो तेस्रो खेलबाट पहिलो जित निकालेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे ५ बजे सुरु हुनुपर्ने खेलको टस नै बेलुकी ९ बजे भएको थियो। बिहीबारदेखिको वर्षाका कारण भिजेको आउटफिल्ड र डेढ घण्टाको खेल्ने-नखेल्ने नोकझोकपछि ९ बजे खेलको टस सम्भव भएको थियो।

पटकपटक खेल्न अस्वीकार गर्दै मैदान छाडेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्ता दिए। ब्याटिङमा उत्रिएको विराटनगरे विस्फोटक ब्याटिङ गर्दै पहिलो ओभरमै ३५ रन बनायो। आफ्नो अन्दाजलाई पाँचौँ ओभरसम्म अघि बढाउँदै २ विकेट गुमाएर १०५ रन बनायो।
जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमको ब्याटिङ उस्तो जमेन। सुदूरपश्चिम निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रनमा समेटियो। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २८ तथा सैफ जैब र आरिफ शेखले समान १७ रन बनाए। बलिङमा विराटनगरका आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र रुपेश सिंहले समान १ विकेट लिए।

त्यसअघि ब्याटिङमा उत्रिएको विराटनगरका ओपनर सेहान जयसूर्याले ११ बलमा ५ छक्का र २ चौकाको सहायतामा ३९ रन बनाउँदै अभिनास बोहराको बलमा एलबीडब्लु आउट भए। त्यस्तै, १० बलमा १ चौका र ३ छक्का प्रहार गरेका लोकेस बम २५ रन बनाएर बोहराकै बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट भए। आन्द्रे रसले १० बलमा २ चौका र ३ छक्कासहित २९ रन बनाएर अविजित रहे।

बिहीबार बेलुकाबाट निरन्तर परेको पानीले एनपीएको आजको पहिलो खेल त रद्ध नै भएको थियो। दोस्रो खेल पनि हुने-नहुने अन्योलबीच पाँच-पाँच ओभरको खेल हुने भएको थियो। इनिङ्सको बीचमा १० मिनेटको ब्रेक हुने गरी पहिलो बल ७:४१ मा हुने तय गरिएको थियो।

तर, अन्तिम समयमा आएर सुदूरपश्चिमले खेल्न अस्वीकार गर्दै डेढ घण्टासम्म मैदानमा ड्रामा चलेको थियो। सुदूरपश्चिमका खेलाडी र प्रशिक्षक मैदानबाट बाहिरिसकेका थिए भने विराटनगरका खेलाडी भने मैदानमै बसेका थिए।
योसँगै लगातार दुई खेलमा हार ब्यहोरेको विराटनगरलाई पाएको दुई अंकले निकै राहत दिएको छ। सामान तीन खेल खेलेको सुदूरपश्चिमको यो दोस्रो हार हो।