काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलको टस अझै भएको छैन। आयोजकले ७: २५ मा टस गरेर ७: ४१ मा खेल सुरु हुने जनाए पनि अझै टस हुन सकेको छैन।

मैदानमा हेर्दा सुदूरपश्चिमले टसका लागि अस्वीकार गरेको देखिन्छ। सुदूरपश्चिमका प्रशिक्षक मिस्बा-उल-हक र कप्तान दीपेन्द्रसिंह ऐरी लामो छलफलपछि मैदानबाट बाहिरिएका थिए। अरु सुदूरपश्चिमका खेलाडी पनि बाहिरिँदा विराटनगरका खेलाडी भने निरन्तर मैदानमै छन्।

बिहीबार बेलुकाबाट निरन्तर परेको पानीले एनपीएलको आजको पहिलो खेल त रद्ध नै भयो। दोस्रो खेल पनि हुने-नहुने अन्योलबीच पाँच-पाँच ओभरको खेल हुने भएको थियो। इनिङ्सको बीचमा १० मिनेटको ब्रेक हुने र पहिलो बल ७:४१ मा हुने जनाइएको थियो। चोभार एण्डको एउटा फ्लडलाइट भने बलेको छैन। बाउन्ड्री पनि छोट्याइएको छ।
तर, टस नै यसमा हुन सकेको छैन। निकै छलफल चलेपछि सुदूरपश्चिमका खेलाडी र प्रशिक्षकले मैदान छाडेका थिए।

भर्खरै, ऐरी र मिस्बा-उल-हक फेरि मैदानमा आएका छन् भने क्यानका सचिव पारस खड्का समन्वयमा जुटेका छन्।
