BIZMANDU
www.bizmandu.com

अन्तरिक्षको एकै यात्रामा वर्ष दिनभन्दा धेरै समय बिताउने सेर्गेई प्रोकोपिएभ, कसरी फस्टाउँदैछ स्पेस टुरिजम?

२०८३ कात्तिक १४

अन्तरिक्षको एकै यात्रामा वर्ष दिनभन्दा धेरै समय बिताउने सेर्गेई प्रोकोपिएभ, कसरी फस्टाउँदैछ स्पेस टुरिजम?
अन्तरिक्षको एकै यात्रामा वर्ष दिनभन्दा धेरै समय बिताउने सेर्गेई प्रोकोपिएभ, कसरी फस्टाउँदैछ स्पेस टुरिजम?


लेनिनस्की प्रोस्पेक्टमा रकेटको टुप्पोमा पूर्ण कदको शालीक देखाउँदै नातलिया इबेलले प्रश्न गरिन्, ‘तपाईँले पक्कै चिन्नुभयो होला।’  नातलिया अंग्रेजी भाषाका प्राध्यापक र मस्कोमा हाम्रो टुर गाइड। 

GBIME
Tata

उनले देखाएको शालीक चिन्न हामीलाई कठिन थिएन किनकि हामी गागरिन स्क्वायर भित्र थियौं। पहिलो अन्तरिक्ष यात्री युरी गागरिन पृथ्वी परिक्रमा गरेर फर्किँदा यही बाटो ल्याइएको रहेछ। त्यसैले गागरिन स्क्वायरमा साढे ४२ मिटर उचाईको रकेट र त्यसको टुप्पोमा युरी गगारिनको पूर्ण कदको शालिक खडा गरिएको रहेछ- स्पेससुट सहितको।

फेदमा आगोको ज्वालाजस्तो देखिने टाइटेनियमबाट बनेको विशाल संरचना आफैँमा सानदार थियो जसले ६० को दशकको इतिहासलाई जीवित राखेको छ। 

सन् १९६१ अप्रिल १२। अन्तरिक्षमा पहिलोपटक गागरिनको यात्रा सफल गर्न रुस सफल हुँदा त्यसले विश्व तरङ्गित थियो। त्यसभन्दा धेरै मथिंगल हल्लिएको थियो अमेरिकाको। अन्तरिक्ष यात्रामा अमेरिका र रुस त्यतिखेर तीब्र प्रतिस्पर्धी थिए। 

युरी गागरिनको स्मारकबाट अगाडि बढ्नासाथ नातलियाले अर्को प्रश्न गरिन्, ‘तपाईँहरूले सेर्गेई प्रोकोपिएभलाई चिन्नुहुन्छ?’

कसैबाट पनि जवाफ नआएपछि उनी आफैँ अघि बढिन् र सुनाइन्, ‘पहिलो हुनेको जति इतिहास अरुको हुँदैन। युरी गागरिनले पृथ्वी परिक्रमा गर्ने समय १ घण्टा ४८ मिनेटमात्र अन्तरिक्षमा बिताएका हुन्। सेर्गेईले त अन्तरिक्षमा ५६७ दिनभन्दा धेरै समय बिताइसके। पहिलो हुनुको अर्थ विशेष हुने रहेछ।’

त्यसको दोस्रो दिन हाम्रो सामुन्नेमा छन् सेर्गेई प्रोकोपिएभ। ग्लोबल डिजिटल फोरमको एउटा सेसनमा उनी वक्ताका रुपमा रहेछन्। अघिल्लो साँझ उनीबारे सुन्नु र भोलिपल्ट वक्ताका रुपमा पाउनु गजबको संयोग। 

अन्तरिक्षमा एकल उडानमा सबैभन्दा धेरै समय अन्तरिक्षमा बिताएको रेकर्ड सेर्गेईसँग छ। त्यसबाहेक पनि उनी धेरै समय अन्तरिक्षमा बिताउने सीमित व्यक्तिमा पर्दा रहेछन्। 

सेर्गेई प्रोकोपिएभ (दायाँ)

स्पेस टुरिज्म, आजकल धेरै नै सुनिन्छ। युरी गगारिनबाट थालनी भएको स्पेस टुर सन् २००२ बाट व्यावसायिक बन्यो। विन स्टिटो पहिलो पर्यटक। सुरुमा यसखाले टुरिज्म रुसी अन्तरिक्ष यानबाट अघि बढ्यो। १० भन्दा धेरै मानिस यसैगरी रुसी यानबाट अन्तरिक्ष यात्रामा पुगे। 

पछिल्लो समय स्पेसएक्स जस्ता अमेरिकी निजी रकेट कम्पनीले स्पेस टुरिज्मलाई फैलाइरहेका छन्। अमेरिकी ट्रिपबाट अन्तरिक्षमा मानिसहरू जानेक्रम बढेको सेर्गेईले बताए। भने, ‘अहिले अमेरिकी ट्रिपमार्फत उड्ने अवसर छ। उनीहरूले हरेक दुई वर्षमा केही पर्यटकलाई लैजाने प्रयास गर्छन्।’  

स्पेस टुर सस्तो छैन। विनी स्टिटोले पहिलो पटक पर्यटकका रुपमा अन्तरिक्षको विचरण गर्दा दुई करोड अमेरिकी डलर तिरेका थिए। यो मूल्यको अर्थ हो – यसखाले पर्यटक बन्न धनी देशको धनी मानिसले मात्र सक्छन् यसखाले यात्रा। अन्तरिक्षमा यात्रा गराउने एजेन्सीलाई तिर्ने रकम र आवश्यक प्रशिक्षणमा लाग्ने खर्च धान्न जोकसैले सक्ने कुरै भएन। 

‘उनले २० मिलियन डलर तिरेका थिए। अहिले पनि अवस्था उस्तै छ। उड्न चाहने करोडपतिहरूसामु आफूलाई सहज हुने देश चाहिँ बढेको छ,’ उनले भने। 

अन्तरिक्षमा पर्यटन यात्रा अहिले झन् महँगो छ। दुई साताको यात्राका लागि नेपाली ९ अर्ब रुपैयाँको हाराहारी लाग्ने रहेछ। ‘सब अर्बिट’सम्मको ९० मिनेटजतिको यात्राका लागि पनि ९ करोड हाराहारी।

अन्तरिक्ष पर्यटनमा व्यावसायिक प्रतिस्पर्धा पनि बढ्दो छ। रुसको रोस्कोस्मोससँग अमेरिकी कम्पनीहरूले बजार विस्तार गरिरहेका छन्। सेर्गेईले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनजस्ता परियोजनाले विभिन्न देशका पर्यटकलाई अवसर दिएको सुनाए।

भने, ‘यो हाम्रा लागि पनि अति महत्त्वपूर्ण छ। अन्य देशहरूले पनि अन्तरिक्ष उडानको आफ्नै वातावरणमा प्रवेश पाउन्।’

अन्तरिक्षको टुर कुनै पोखरा भ्रमण वा सहज ट्रेकिङ रुटको यात्राजस्तो होइन। अन्तरिक्षमा जानुअघि पर्यटकले व्यावसायिक अन्तरिक्ष यात्रीजस्तै कडा तालिम लिनुपर्छ। सेर्गेईका अनुसार सामान्यतया तीन महिने प्रशिक्षण हुने गर्छ पर्यटकका लागि। तालिममा अन्तरिक्ष स्टेसनका तौरतरिका, उपकरणको प्रयोग र सुरक्षाका उपायहरू सिकाइन्छ। पर्यटक बन्न तालिममा पास अनिवार्य हुनैपर्छ। यसका लागि धन त चाहिन्छ नै तर धनले मात्र यात्री बन्न योग्य हुने होइन। 

सन् १९७५ मा सोभियत संघमा जन्मेका सेर्गेई अन्तरिक्ष यात्रु बन्नुअघि रुसी वायुसेनामा आवद्ध रहेछन्। टीयू-१६० जस्ता बमवर्षक विमान उडाउन पोख्त उनी सन् २०१८ मा पहिलोपटक अन्तरिक्षको यात्रामा गएका हुन्। 

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा एक्सपेडिसन ५६/५७ का फ्लाइट इन्जिनियरका रुपमा १९७ दिन उनले अन्तरिक्षमै बिताए।  २०२२ मा एक साता अन्तरिक्षमा रहेका उनी सन् २०२३ मा तेस्रो पटक फेरि पृथ्वीभन्दा पर पुगेका थिए। 

यसपटकको यात्रा भने उनको अपेक्षाभन्दा लामो बन्न पुग्यो। उनी गएको अन्तरिक्ष यानमा प्रविधिक समस्या आयो र उनको अन्तरिक्ष बसाई लम्बियो। त्यतिखेर उनले एक वर्षभन्दा बढी अर्थात् ३७० दिन अन्तरिक्षमा बिताए। यी सबै जोड्दा माथि ५६७ दिन।

सेर्गेईको नाममा अर्को रेकर्ड पनि रहेछ ‘स्पेस वाक’को। अन्तरिक्ष यात्राकै क्रममा उनले ५५ घन्टा भन्दा धेरै समय स्पेस वाक गरेका रहेछन्। अन्तरिक्ष यात्रीहरू पृथ्वीको वायुमण्डल र अन्तरिक्ष स्टेसनको सुरक्षित घेराभन्दा बाहिर निस्किएर स्टेसनको मर्मत सम्भार गर्ने, नयाँ उपकरणहरू जडान गर्ने, वा वैज्ञानिक परीक्षण गर्ने कामका लागि स्पेस वाक गर्ने गर्छन्। 

बलियो सैन्य पृष्ठभूमिका आँटिला अन्तरिक्ष यात्रीलाई हाम्रो प्रश्न थियो – कस्तो हुन्छ पृथ्वी परको दिनचर्या?

सेर्गेई अन्तरिक्षबाट फर्किएपछिको तस्विर।

उनका अनुसार अन्तरिक्षको दैनिकी निश्चित तालिका अनुसार चल्छ, पृथ्वीमा जस्तै। बिहान उठ्नु, फ्रेस हुनु, नास्ता खानु आदिआदि। अनि दैनिक काम अन्तरिक्ष स्टेसनको व्यवस्थापन। उडानसँग जोडिएका पाँच मुख्य स्टेसनहरूसँग सहकार्य र दैनिक योजनाअनुसारका कामहरू।

मुख्य पाँच स्टेसनमा संयुक्त राज्य अमेरिकाको नासा, रसियाको रोस्कोस्मस, युरोपेली स्पेस एजेन्सी इसा, जापानको जाक्सा र क्यानडाको सीएसए हुन्। यिनै स्टेसनसँग समन्वयमा काम गर्ने र अन्य आफ्नो दैनिकी गरी आठ घण्टा काम गर्छन्। त्यही बीचमा खाना र खाजा चलिरहन्छ। 

‘यो वास्तवमै हाम्रो पृथ्वीको जीवनसँग मिल्दोजुल्दो हुन्छ। हामी उठ्छौं, नास्ता गर्छौं, मुख धुन्छौं, त्यसपछि विश्वका सबै केन्द्रहरूसँग हाम्रो निश्चित बैठक हुन्छ,’ उनले दिनचर्या सुनाए।

पृथ्वीमा हाम्रो दैनिक जस्तो हो अन्तरिक्षमा पनि उस्तै भन्नुको मतलब शारीरिक व्यायाम? 

माइक्रो ग्र्याभिटीको वातावरणमा शरीरले तन्दुरुस्त राख्‍न व्यायाम अनिवार्य हो। 

‘दैनिक दुई घन्टा व्यायामलाई छुट्याउनुपर्ने नियम नै छ। अन्तरिक्षको भारहीनतामा पनि हाम्रो शरीर सकुशल राख्‍नका लागि यो अनिवार्य हो,’ उनले सुनाए। अन्तरिक्षमा जति दिन रहे पनि फर्कनुपर्ने त यही धर्तीमा नै हो। त्यसैले यहाँ सकुशल आउन र आएपछि पुर्ववत काम गर्न सक्ने हुन पनि माथि व्यायाम चाहिन्छ।  

‘हामीले यहाँजस्तै खाने हो त्यहाँ पनि। वर्थ डे छ भने केक बेक गर्ने र सेलिब्रेट गर्ने हो,’ सेर्गेईले अन्तरिक्षमा खानपान र मनोरञ्जनको सन्दर्भ जोड्दै सुनाए, ‘आफ्नो स्वादअनुसार पकाउने र खाने गर्छौं।’ 

धर्तीमा जस्तो फ्रेस सागसब्जी फलफूलको अपेक्षा अन्तरिक्षमा गर्न सकिन्न। तर आफ्नो स्वादअनुसारको खाना त्यही तयार गर्ने गरिएको उनले बताए। प्याक गरेर अन्तरिक्षमा खाना लगिएको हुन्छ त्यहाँ बस्ने अवधिका लागि।  

अन्तरिक्षमा व्यायाम गर्दै सेर्गेई। तस्विर : नासा

अन्तरिक्ष स्टेसनमा फरक भाषा बोल्नेहरू जोडिएका हुन्छन्। त्यसैले एउटा भाषामात्र चल्दैन स्पेसमा। सेर्गेईको भाषामा त्यहाँ ‘रशग्लिस’ चल्छ। अर्थात् रुसी र अंग्रेजीको हाइब्रिड। रुसी सेगमेन्टका अन्तरिक्ष यात्रीले अमेरिकी सेगमेन्टका सहकर्मीसँग अंग्रेजीमा कुरा गर्छन्। अमेरिकी वा अरु देशका अन्तरिक्ष यात्रीले रुसी सेग्मेन्टमा जानुपर्दा रुसी भाषामा कुरा गर्नुपर्ने हुन्छ। 

‘यसलाई अन्तराष्ट्रिय अन्तरिक्ष भाषा भन्छौं हामी- रशग्लिस। यो रुसी र अंग्रेजी शब्दहरूको संयोजन हो,’ उनले सुनाए। 

रसिया र बाँकी पश्चिमा मुलुकसँगको सम्बन्ध तनावपूर्ण छ लामो समयदेखि। रसिया-युक्रेन युद्धको असर युद्धमा जोडिएका शक्ति राष्ट्रमा मात्र सीमित छैन। त्यसको असर नेपालसम्मै छ। रसिया आर्थिक नाकाबन्दीको चरम अवस्थाबाट गुज्रिरहेको छ। राजनीतिक रुपमा अमेरिका र युरोपेली मुलुकसँग तीतो छ सम्बन्ध। धर्तीको त्यो चिसो सम्बन्ध धर्तीमाथिको आकाशमा कस्तो होला?

‘माथि मात्र होइन, अन्तरिक्षमा रहने कुनै पनि मुलुकका साथीहरूसँग यहाँ हुँदा पनि मेरो कुराकानी चलिरहन्छ। हामी फोन सम्पर्कमा रहिरहेका हुन्छौं,’ सेर्गेई कुटनीतिक सुनिए, ‘यसखाले राजनीतिक लडाई पनि सधैं रहने छैन भन्ने लाग्छ मलाई। सधैं यही अवस्था रहने छैन।’

फरक राजनीतिक व्यवस्था र संस्कृति भएका मुलुकका नागरिकहरू अन्तरिक्षमा पुगेका हुन्छन्। सबैले सबैको भाषा र संस्कृतिको सम्मान गर्छन्। भन्छन्, ‘हामी साथीहरू हौं। उडानअघि, उडानको समयमा र उडानपछि पनि हामी सम्पर्कमा रहन्छौं। कामको च्याट सुरक्षित राख्छौं र जन्मदिनको शुभकामना सन्देशहरू पठाउँछौं।’

उनका अनुसार धर्तीभन्दा फरक छ अन्तरिक्ष। त्यहाँ यहाँजस्तो सीमारेखा छैनन्। भूलोकमा हुने कुटनीतिक तनावले माथिको काममा प्रभाव पार्दैन किनकि उनीहरू एकै परिवार झै मिलेर काम गर्छन्।

युरी गागरिनको देशमा मैले नचिनेको सार्गेईको कुरा जति सुने पनि सुनिरहँजस्तो लाग्थ्यो। उनी रुसी भाषामा बोल्थे अनुवादकले त्यसलाई अंग्रेजीमा अर्थ्याउँथे। 

सेर्गेईसँगको अन्तर्क्रियापछि मलाई अघिल्लो दिन युरी गागरिन स्क्वायरमा देखेको दृश्य अझ सान्दर्भिक लाग्यो। भूगोल बाहिर अन्तरिक्षमा प्रतिस्पर्धा अझै जारी छ। तर, त्यहाँ धर्तीमा जस्तो तनाव छैन।

किनकि माथिबाट धर्तीमा हेर्दा जापानका प्राध्यापक डा मान्मुरो मोहरीले भने झै – अन्तरिक्षबाट पृथ्वीमा हेर्दा खैरा शहर, हरियो-कालो जंगल र नीलो समुन्द्र प्रष्ट देखिन्छ। तर देखिन्न इसराइल र प्यालेस्टाइन तथा कस्मिरमा कोरिएको मुलुक मुलुकबीचको भूगोलको सीमा।