काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चार गृहमा भइरहेको धरपकड र ह्यारेसमेण्ट बन्द गर्न माग गरेका छन्।
शुक्रबार सञ्चार गृहहरुमा प्रहरी प्रवेश गरी धरपकड र पक्राउको घटनापछि थापाले वक्तव्य जारी गर्दै कानुन विपरीत पक्राउ नगर्न माग गरेका हुन्। वक्तव्यमा थापाले पक्राउ र धरपकडलाइ शाहीकालको झल्को भएको टिप्पणी गरेका छन्।
वक्तव्यमा भनिएको छ, ‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाहीकालको निरङ्कुशताको झल्को दिएको छ। विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौं घटना हामीले भोगेका हौं। आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो।’
कांग्रेस प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ। संवैधानिक अधिकारको रक्षा गर्दै सञ्चारगृहमा भइरहेको प्रहरी हस्तक्षेप रोक्न थापाले सरकारसँग माग गरेका छन्।
