काठमाडौं। उद्योग विभागले फोहोर पानी सिधै नदीमा नमिसाउन उद्योगहरुलाई निर्देशन दिएको छ। उद्योगहरुले फोहोर पानी प्रशोधन नगरी नदीमा विसर्जन गरेर प्रदूषण गरेको उजुरीपछि विभागले सूचना निकालेर सचेत गराएको हो।
विभागले उद्योगहरुलाई फोहोर पानी सरकारले निर्धारण गरेको वातावरणीय मापदण्ड अनुरूपको भएको निश्चित गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन र चाडपर्वको अवसरमा डिप बोरिङ वा अन्य श्रोतबाट स्वच्छ पानी पठाएर नदी स्वच्छ बनाउनका लागि सहयोग गर्न आग्रह गरेको छ।
‘पछिल्लो समय वीरगञ्ज पथलैया कोरिडोरको सिर्सिया नदी आसपासका उद्योगले निष्कासन गरेको प्रदूषित पानीले दीपावली तथा छठ जस्ता चाडपर्व मनाउन समेत कठिनाई भएको स्थानीय बासिन्दाको गुनासोको विषयमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले भनेको छ, ‘दीपावली तथा छठ पर्वको अवसरमा नदीको स्वच्छता कायम राख्ने कार्यमा विशेष संवेदनशील हुन सम्बन्धित सबै उद्योगहरुलाई अनुरोध गरिन्छ।’
विभागले आफ्नो निर्देशन कार्यान्वयन भए/नभएको बारेमा निरीक्षण गर्ने बताएको छ।