काठमाडौं। चालु आर्थिक वर्ष तीन महिनामा सवा १६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
साउनदेखि असोजसम्म विभिन्न क्षेत्रका ४२२ परियोजनाका लागि १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको हो।
४१७ वटा साना उद्योग, २ वटा मध्यम र ३ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धताआएको उद्योग विभागले जनाएको छ।
असोजमा मात्रै ९४ वटा परियोजनाका लागि ५ अर्ब १० करोड ७५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो। ती सबै साना परियोजना हुन्।
विभागका अनुसार लगानी प्रतिबद्धता आएका परियोजना सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रका छन्। यो क्षेत्रका २५२ वटा परियोजनामा ९२ करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबर वैदेशकि लगानी प्रतिबद्धता आएको छ।
पर्यटमूलक क्षेत्रका १०८ वटा परियोजनाका लागि ६ अर्ब ८२ करोड, सेवामूलक क्षेत्रका ३३ परियोजनाका लागि ३ अर्ब ५७ करोड ५४ लाख, उत्पादनमूलक क्षेत्रका २५ परियोजनाका लागि १ अर्ब ६० करोड, ऊर्जामूलक क्षेत्रका २ परियोजनाका लागि ४ अर्ब र कृषि क्षेत्रका २ परियोजनाका लागि ४० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
विभागले तीन महिनामा ९१ करोड ६६ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृति दिएको छ।