काठमाडौं। सर्लाही लालबन्दी नजिकै पर्ने पाँचकुमारीका उज्वल थापाले १० कठ्ठा धानखेत बिक्रीमा राखेका छन्। चार वर्षअघि बैंकमा धितो राखेर लालबन्दीमा घर बनाएका थापाले ऋण सल्टाउन भन्दै कठ्ठाको ५ लाखमा जग्गा बिक्रीमा राखेका हुन्।
जग्गा बिक्रीमा राखेको तीन वर्ष हुँदा पनि ग्राहक भने उनले पाएका छैनन्। ‘बैंकको ताकेता छ। ऋण सल्टाउनुपर्ने। रोड अगाडिको यो जग्गा किन्ने ग्राहक अझै पाएको छैन,’ थापाले भने।
थापाले झैं सर्लाहीका शहरी र ग्रामीण क्षेत्रका धेरै स्थानीयले जमिन बिक्रीमा राखेका छन्। हिजोआज मुलसडकदेखि भित्री सडकका बिजुलीका पोलमा जग्गा बिक्रीको विज्ञापन सहजै देखिन्छ।
जग्गा बिक्रीमा राख्नुका कारण भने फरकफरक रहेको घरजग्गा ब्यबसायी संघ सर्लाहीका अध्यक्ष सुमन थपलिया बताउँछन्। ‘भित्री सडकमा एकदेखि ५ कट्ठासम्म जग्गा बिक्रीमा राख्न थालेका छन्। यहाँ कठ्ठाको ४ लाखदेखि १० लाखसम्म पर्छ। यसको मुख्य कारण खेती पनि चल्ने जीवन पनि निर्वाह होस् भनेर हो,’ थपलियाले भने।
घरजग्गा बेच्नुको कारण भने पक्की भवन बनाउने ट्रेन्ड भएको उनी बताउँछन्। थपलियाका अनुसार आधुनिक भवन बनाउने योजनामा धेरैले आफ्नो जमिन बिक्रीमा राखेका हुन्। ‘बेच्नेहरुको २-४ विघा जग्गा त हुन्छ नै। पक्की घर बनाऔं भन्ने ट्रेन्ड अहिले छ। एसी जोडम्। आधुनिक बनाम भन्ने छ। यसका लागि आम्दानीको स्रोत त छैन। यसैले जग्गा बिक्रीमा आएको हो,’ थपलियाले भने।
अर्को कारण थापाको जस्तो बैंकिङ कारोबार हो। ‘लिलाममा जाने डरले धेरैले बैंकमा राखेका घरजग्गा आफैंले बिक्रीमा राखेका छन्,’ थपलियाले भने।
बारामा पनि धेरै स्थानीयले जग्गा बिक्रीमा राखेका छन्। जग्गा तथा आवास विकास संघ बाराका अध्यक्ष लक्ष्मण कँडेल धेरैजसो जग्गा बैंकिङ कारोबार सल्टाउन बिक्रीमा आएको बताउँछन्। ‘मैले पनि बाराको जग्गा बैंकमा राखेको थिएँ। बैंकले हत्तु गरेपछि आफन्तमार्फत सल्टाएँ। यसो गर्दा जग्गाको मूल्य एकदम कम हुन्छ। होलसेलमै जान्छ। इज्जत जोगाउन भए पनि यसो गर्नैपर्यो,’ कँडेलले भने।

अहिले मधेशका सडक सडकमा जग्गा बिक्रीमा भन्ने बोर्ड देखिन्छ। मधेशको यात्राको दौरानमा आफूले रौतहटका सडकमा यस्ता होर्डिङ बोर्ड धेरै देखेको कँडेलले बताए। ‘तर, किन्ने छैनन्। बेच्ने धेरै छन्। काठमाडौंबाट एड बनाउन र बेच्न भनेर दुई चार दिन देखिनेहरुको पछि नाकमुख देखिन्न,’ उनले भने।
जग्गा बिक्री नहुँदा होलसेलकै भाउमा व्यवहार सल्टाउनुपर्ने बाध्यता रहेको व्यवसायीहरु बताउँछन्। ‘जग्गा बिक्री नभएपछि आफन्तभित्रै यति ऋण तिरिदेउ, जग्गा पास गर्दिन्छु भनेर जग्गा पास भइरहेको छ। यसरी जग्गा पास गर्दा होलसेलकै मूल्यमा गइरहेको छ,’ कँडेलले भने।
मधेशमा पुर्ख्यौली जग्गा बेच्नुका कारण अरु पनि छन्। कोही ठूला शहरमा घर गाडी जोड्नका लागि जग्गा बेच्न चाहनेहरु छन्। कसैले सन्तानका लागि राम्रो शिक्षा दिन अरु उपाय नभएपछि जग्गा बेच्न चाहेका हुन्। जग्गा बेचेर विकसित देशमा जान चाहनेहरु पनि छन्।
सात वर्षअघि काठमाडौंको बूढानीलकण्ठमा घर लिएका सुनसरीका रविन कोइरालाले घर गाडीको ऋण सल्टाउन केही दिनअघि जग्गा बेचे। झुम्काबजारमा उनले चल्तीको भाउभन्दा निकै कम मूल्यमा जग्गा बेचेको सुनाए। ‘काठमाडौंमा घर लिएको। बाँकी किस्ता तिर्न गाह्रो भएपछि पुस्तौनी जग्गाको केही अंश बेचेर सल्टाएँ,’ कोइरालाले भने।
जग्गामा लगानी गरेका केही व्यापारीले पनि जग्गा बेच्न थालेका छन्। पछिल्लो दिन सरकारी नीतिका कारण घरजग्गा व्यापार स्थिर भएपछि धान्न नसकिने देखेर लगानीकर्ताले नै जग्गा बेच्न थालेको व्यवसायीहरु बताउँछन्। ‘जग्गामा लगानी गरेकाहरुले छिटोभन्दा छिटो बेचेर लगानी उठाइ बाहिर निस्कन चाहिरहेका छन्,’ एक व्यवसायीले भने।
मधेशमामात्र होइन, हिमाली र पहाडी जिल्लाका पाखो पनि बेच्न चाहनेहरुको संख्या दिनानुदिन थपिँदो छ। गोरखा पालुङटारका केदार श्रेष्ठले धान खेती हुने १७ रोपनी जग्गा बिक्रीमा राखेका छन्।

हिजोआज यसरी घरजग्गा बिक्रीमा रहेको जानकारी सामाजिक सञ्जाल फेसबुकदेखि टlकटकमा पनि असरल्ल देखिन्छ। सामाजिक सञ्जालमा परिचय खुल्ने डरले कतिपयले रियल स्टेट एजेन्ट र इन्फ्लुयन्सरमार्फत विज्ञापन गर्दै आएका छन्।
किनबेच मिक्लाजुङले टिकटकमा ६० बढी यस्ता विज्ञापन राखेको भेटिन्छ। इलामको चुलाचुलीदेखि विभिन्न क्षेत्रमा धुरको ३० हजारमा जग्गा पाइने ती विज्ञापनबाट देखिन्छ।
काठमाडौं नजिकका सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, धादिङ र मकवानपुरमा पनि यो ट्रेन्ड उकालो लाग्दो छ। बागमती प्रदेशको केन्द्र मकवानपुरका अधिकांश पहाडी क्षेत्रका जग्गा बिक्रीमा राखेको देखिन्छ। राक्सीराङदेखि हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानमा यस्ता जग्गा बिक्रीमा राखिएको छ।
घरजग्गा व्यवसायी संघका मकवानपुरका अध्यक्ष कमलराज मैनाली पछिल्लो पटक आर्थिक शिथिलताले जग्गा बेच्न चाहनेको संख्या बढेको बताउँछन्। उनका अनुसार घर धितोमा राखेर व्यवसाय गर्नेहरुले ब्याज तिर्न नसकेपछि जग्गा बिक्रीमा राखेका हुन्। ‘धितो राखेर ऋण लिएका हुन्छन्। व्यापारमा मन्दी छ। यसले गर्दा ब्याज तिर्न सकिरहेका छैनन्। बैंक, फाइनान्स र सहकारीले निरन्तर ताकेता गरेपछि जग्गा बेच्नतिर लागेको देखिन्छ,’ मैनालीले भने।
धुमधामसँग बिहेबारी गर्न र छोराछोरीलाई विकसित देश पठाउन जग्गा बिक्रीमा राख्नेहरु पनि छन्।
पहाडी क्षेत्र राक्सिराङको जग्गा बिक्रीमा आएकोबारे मैनालीले फरक प्रसंग सुनाए। केही वर्षअघि सरकारले गाँजा खेतीलाई वैधानिक बनाउने हल्ला चलेपछि धेरैले राक्सिराङको जग्गामा लगानी गरे। ‘७-८ वर्षअघि होला यस्तो हल्ला चलेको। त्यसपछि यहाँको गाँजा नेपालकै राम्रो भन्ने हल्ला पनि छ। गाँजा खेतीबाट कमाउन सकिन्छ भनेर जग्गा लिएकाहरुले अहिले बेच्न थालेका छन्,’ मैनालीले भने।
राक्सिराङका धेरैजसो ठाउँमा बसोबास गर्नेहरु रैथाने भए पनि यसरी किनबेच हुँदै लालपुर्जामा नाम फेर्नेको संख्या धेरै छ।

पश्चिम नेपालमा छोराछोरीलाई डाक्टर बनाउनेदेखि ठूला देशमा पठाउने ट्रेन्डले पनि जग्गा बेच्न चाहनेहरु बढेको जग्गा तथा आवास विकास संघ कैलालीका अध्यक्ष डबलबहादुर ऐरले बताए।
यद्यपि जग्गाको बिक्री भने ५० प्रतिशत खस्केको ऐर बताउँछन्। ‘ठाउँ ठाउँमा बोर्ड छन् जग्गा बिक्रीका। सामाजिक सञ्जालमा त्यतिकै हल्लाखल्ली छ,’ ऐर भन्छन्, ‘तर बिक्री छैन।‘
धनगढी क्षेत्रमा विगतमा जस्तो व्यापार नचम्केका कारण पनि बैंकको ऋण सल्टाउन जग्गा बेच्ने लहर देखिएको उनको भनाइ छ।
घरजग्गा व्यवसायमा सरकारको स्पष्ट नीति नहुँदा पूर्वदेखि पश्चिम र पहाडदेखि मधेशका जग्गा बिक्रीमा आएकोमा व्यवसायीहरु एकमत छन्। उनीहरुका अनुसार पछिल्ला दिनमा बैंकको ताकेताले पनि सर्वसाधारणमा जग्गा बिक्री गर्ने ट्रेन्ड बढेको व्यवसायी बताउँछन्।
‘ब्याज तिर्न नसकेको कारणले रोक्का गरेर त्यसलाई थप गरेर ऋण लिएको हुन सक्छ। त्यसकारणले त्यसलाई त फेक भन्न मिल्दैन। व्यवहार मिलाउने भनिन्छ। भोलि कालोसूचीमा पर्नुभन्दा त भएको जग्गा जमिन राखेर अरु अरु चाहिँ ऋण थपेर त्यो ब्याज तिर्नु अथवा व्यवहार मिलाउनु त पर्यो नि,’ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले भने।