BIZMANDU
www.bizmandu.com

चन्द्रनिगाहका १६ वर्षे ठिटो, जसमा ‘नेपालको मालिंगा’ बन्ने सम्भावना देख्छन् मोइन अली!

२०८३ कात्तिक १२

चन्द्रनिगाहका १६ वर्षे ठिटो, जसमा ‘नेपालको मालिंगा’ बन्ने सम्भावना देख्छन् मोइन अली!
चन्द्रनिगाहका १६ वर्षे ठिटो, जसमा ‘नेपालको मालिंगा’ बन्ने सम्भावना देख्छन् मोइन अली!


काठमाडौं । ‘गाउँ मेरो रौटहट चन्द्रनिगाह’ यो गीत हामी धेरैले सुनेका छौं । भिटेनको यो र्‍याप गीतले मधेशको एउटा बस्तीको चित्रण गर्छ। त्यही गीतको यो लाइनसँग ठ्याक्कै परिचय मिल्ने एकजना युवा खेलाडीले एनपीएलमा धमाका मच्चाइरहेका छन्। उनी हुन् राहुल यादव।

GBIME
Tata

जनकपुर बोल्ट्सको ट्यालेन्ट हण्टबाट यसपटक आइकोनिक खेलाडी बनेर कीर्तिपुरमा खेलिरहेका १६ वर्षे राहुलको प्रशंसा सर्वत्र छ अहिले।

उनले नेपाली र विदेशी अनुभवी खेलाडीले संघर्ष गरिरहँदा आफूलाई मैदानमा अब्बल सावित गरिरहेका छन्।

‘म चन्द्रपुरमा ट्रेनिङ गर्छु। घरबाट साथ हुन्छ,’ उनले लगातार दोस्रो खेलमा सानदार प्रदर्शनपछि भने, ‘जर्सी लगाउँदा अलग लेभलको कन्फिडेन्ट आउँछ। क्राउडले राम्रो सपोर्ट गरिरहेको छ।’

राहुल यादव। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

सामान्यत: ट्यालेन्ट हण्टबाट आएका खेलाडीलाई लिगमा डेब्यू गर्न पाउनु नै ‘ड्रिम’ हुने गर्छ। तर, उनी यसमा अपवाद रहे।

उनले एनपीएलमा जनकपुरको पहिलो खेलमा डेब्युमात्रै गरेनन्, पहिलो बलमै विकेटसमेत लिएका थिए।

‘ट्यालेन्ट हन्टमा ४०-५० जना थिए। त्यसमा म माथि विश्वास गर्‍यो। अझ मलाई पहिलो खेलमा विश्वास गर्नुभयो,’ उनले भने, ‘बाहिरबाट सपोर्ट एकदम राम्रो छ। आज जस्तै सबै खेलमा गर्ने लक्ष्य छ।’

पहिलो खेलमा उनले दीपक डुम्रेसँगै पाकिस्तानका अनुभवी हुसैन तलतको विकेट लिएका थिए। उनी फिल्डिङमा पनि उत्तिकै प्रभावकारी रहे। उनले दुईवटा क्याच लिए।

आफ्नो स्पेल बलिङ गर्दा उनले मात्रै १५ रन दिएर किफायती पनि रहे। खेल त जनकपुरले गुमायो, तर उनले आफ्नो प्रभाव छाडे। उनले यसअघि स्थानीय प्रतियोगिताहरमात्र खेलेका थिए।

मैदानमा राहुल। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

खेलपछि जनकपुरका कप्तान हरमीत सिंहले उनको तारिफ गर्दै उनले राष्ट्रिय टोलीमा खेल्न सक्ने बताए।

‘राहुल यादव १६-१७ वर्षकै उमेरमा पहिलो पटक यति ठूलो मञ्च र सिनियर स्तरमा खेलिरहेका छन् र उनले निकै राम्रो प्रदर्शन गरिरहेका छन्,’ सिंहले राहुलबारे भने, ‘उनको बलिङ निकै डिसेप्टिभ छ। जसले उनलाई पहिलो पटक सामना गर्छ, उसलाई सुरुका केही बलहरू खेल्न निकै गाह्रो हुन्छ’

सिंहले राहुलसँग भएको स्किले सेटले धेरै अघिसम्म जाने सम्भावना देखाएको बताएका थिए।

बलिङमा राहुल। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

राहुल पनि क्रिकेटमा लामो यात्रा गर्ने लक्ष्य लिएर आएका छन्।’ मेरो बुवाले क्रिकेट बुझ्नु हुन्न तर मलाइ सपोर्ट गर्नु हुन्छ,’ उनले पहिलो खेलपछि भनेका थिए।

उनले अझ धेरै अवसरहरू पाउँदै गए भने उनी नेपाली राष्ट्रिय टोलीका लागि मात्र नभई कुनै पनि अन्तर्राष्ट्रिय टोलीका लागि आगामी दिनमा ठूला खेलाडी बन्न सक्ने भन्दै प्रशंसासमेत भइरहेको छ।

पहिलो खेलको प्रदर्शनले दोस्रो खेलमा पनि आज उनले काठमाडौंविरुद्ध खेल्ने अवसर पाए। दोस्रो खेलमा पनि उनले आफ्नो कन्सिस्टेन्सीलाई निरन्तरता दिए। काठमाडौं गोर्खाको चार विकेट लिए उनले।

धुरन्धर ओपनर स्मिथ पटेल र साम हेजलेटलाई उनले पभेलियन फर्काए। उनले करण केसी र आदिल आलमलाई समेत आउट गरे।

पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा चार विकेट लिएका उनी ६ विकेट सहित हाल सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन्।

मोइन अली। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

‘क्यानले ट्यालेन्ट हण्टमा आइकोनिक खेलाडी राखेको छ। यसले राम्रो अवसर दिन्छ। यसले पहिला पनि राम्रो खेलाडी आएको छ,’ काठमाडौं गोर्खाजका टेक्निकल हेड सरद भेषवाकरले उनीतर्फ संकेत गर्दै भने।

उनकै टिममा रहेका चर्चित अलराउण्डर मोइन अलीले पनि उनको तारिफ गर्दै नेपालको मालिंगा बन्न सक्ने बताए।

‘उ राम्रो छ। विकेट लिइरहेको छ। उ नेपालको मालिंगा बन्न सक्छ। उ एकदमै हम्बल पनि छ,’ उनले भने।