काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले ‘अर्नब’को प्रभावस्वरुप प्रमुख राजमार्गहरुमा पहिरोको जोखिम औंल्याएका छन्।
नारायणगढ-मुग्लिन सडक खण्ड (त्रिशूली र नारायणी नदी किनार), कोशी राजमार्ग तथा सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक खण्ड र पहिरोको इतिहास भएका तथा नदी किनारका राजमार्ग जोखिममा रहन सक्ने पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले जनाएका छन्।
‘अर्नब’को प्रभावले पहाडी तथा भिरालो भू-बनोट भएका राजमार्गमा पहिरो खस्ने, ढुंगा खस्ने र सडक भासिने सम्भावना औंल्याइएको छ। महाशाखा र शाखाले सूचना निकालेर नदी किनारका सडक खण्डमा नदीको जलसतह बढेर बाढी तथा कटानको जोखिम हुने भन्दै वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयले चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवा चुस्तरुपमा सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको बताएको छ।