काठमाडौं। नजिकिएको तिहारलाई लक्षित गरी गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। फ्लोरीकल्चर एसोसिएसन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी फूल मेला गरेको हो।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासहित बिहीबार सुरु भएको मेला कात्तिक १६ गतेसम्म चल्नेछ।मेलामा ७८ वटा व्यावसायिक स्टसहित ८६ वटा प्रदर्शनी कक्ष राखिएको छ। प्रदर्शनीमा १५० देखि १० हजार रुपैयाँसम्मका गोदावरी फूल छन्।

मेलामा व्यावसायिक रुपमा उत्पादन गरिंदै आएका विविध जातका गोदावरीसहित ४५० भन्दा बढी प्रकारका फूलका बिरुवा राखिएको एसोसिएसनले जनाएको छ।
गोदावरी मेलाको १९औं संस्करण ३९ हजार बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने र करिब १ करोड ३० लाख रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान छ।









