काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदैछन्। टीयू क्रिकेट मैदानमा पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्।
यी मध्ये कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जित निकाल्दा विराटनगर र जनकपुर पराजित भएका थिए। काठमाडौं चाहिँ सिजनको आफ्नो पहिलो खेलका लागि मैदान उत्रँदैछन्। पाकिस्तानी खेलाडीलाई लिएर एनओसी विवादमा धेरै पिसिने दुई टोलीमा कर्णाली र जनकपुर पर्छन्।
पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं उत्रँदा विदेशी स्टार खेलाडीसँग नेपाली अनुभवी खेलाडी पनि मैदानमा हुनेछन्। जनकपुरसँग मोइन अली र काठमाडौंसँग डेभिड वार्नरजस्ता सुपरस्टार विदेशी खेलाडी छन्।
हरमीत सिंहको कप्तानीमा रहेको जनकपुरसँग ललित राजवंशी, अनिलकुमार साहजस्ता प्रभावशाली खेलाडी छन्। अघिल्लो खेलमा ट्यालेन्ट हन्टबाट आएका युवा खेलाडी राहुल यादवको पनि सानदार बलिङ थियो।
अर्कोतर्फ हरेक संस्करणमा कन्सिस्टेन्ट देखिने काठमाडौं यसपालाको पहिलो पटक मैदानमा उत्रनेछ। उसँग डेभिड वार्नरसँगै विल बोसिस्टो, साम हेजलेट जस्ता खेलाडी छन्। यसअघि कर्णालीबाट खेलेका बोसिस्टोको लय एनपीएलमा सानदार अलराउण्डरका रुपमा छ। यो खेल साढे १२ मा सुरु हुनेछ।
आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्।
विराटनगर किंग्समा आन्द्रे रसेल महत्वपूर्ण विदेशी खेलाडीका रुपमा रहने छन्। उनीसँगै श्रीलंकाका एनगेलो म्याथ्युज, सेहान जयसूर्याजस्ता खेलाडी छन्। नेपाली खेलाडीमा सन्दीप लामिछाने, लोकेश बम, बसीर अहमदजस्ता राष्ट्रिय टोलीका खेलाडी छन्। विराटनगरले आफ्नो पहिलो खेल भने चितवनसँग ८ रनले हारेको थियो।
अर्कोतर्फ छ कर्णाली। पहिलो खेलमा जनकपुरलाई हराएको कर्णालीसँग अरिफुल इस्लाम, मार्क वाट, हुसैन तलत जस्ता खेलाडी छन्। पाकिस्तानी खेलाडीसँगको विवादमा पिसिने मध्येमा कर्णाली पनि एक हो। कर्णालीसँग सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, पवन सर्राफजस्ता प्रभावशाली नेपाली खेलाडी छन्। जनकपुरविरुद्ध खेलकै मोमेन्टम फेरेर नतिजा आफ्नो पक्षमा ल्याउने युनिसविक्रम ठकुरी आज प्लेयर्स टू वाच हुन्। यो खेल पाँच बजे सुरु हुनेछ।