BIZMANDU
www.bizmandu.com

मकवानपुरमा साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्यमा बेच्यो ८ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न

२०८३ कात्तिक १२

मकवानपुरमा साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्यमा बेच्यो ८ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न
मकवानपुरमा साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्यमा बेच्यो ८ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न


हेटौंडा। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा ८ लाख रुपैयाँभन्दा बढीको बिक्री गरेको छ।

GBIME
Tata

सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म ८ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए।

उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रति व्यक्ति ६ पोका नुन, ६ किलो चिनी, ५ लिटर तेल र ५ किलो मैदा उपलब्ध गराइएको थियो।

बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रति किलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, मैदामा ७ रुपैयाँ र तेलमा प्रति लिटर ७ रुपैयाँ छुट दिइएको उनले बताए।

त्यसअनुसार यस अवधिमा ६० बोरा (प्रत्येक बोरामा ५० किलो तौल भएको) चिनी, १० क्विन्टल नुन, ७ क्विन्टल पिठो/मैदा र ५०० लिटर तेल बिक्री गरिएको कार्यालयले जनाएको छ।

चाडपर्व लक्षित सुपथ मूल्यमा बिक्री गर्नेक्रम कात्तिक मसान्तसम्म संचालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। साल्ट ट्रेडिङले गत असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल संचालनमा ल्याएको हो।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगंज, हेटौंडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल संचालन गरेको छ। रासस