काठमाडौं। सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरेको छ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार सवारीसाधनको प्रकारका आधारमा काठमाडौं प्रवेश गर्दा ६५ देखि ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० देखि २५० रुपैयाँसम्म शुल्क लाग्नेछ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै चार वर्गका सवारीसाधनका लागि छुट्टाछुट्टै शुल्क तोकेको हो। नयाँ शुल्क कात्तिक १५ देखि लागू हुने सूचनामा उल्लेख छ।
कार, भ्यान, पिकअप, ट्याक्सी र माइक्रोबस लगायत साना सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस र मिनी ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ।
बस र ट्रकजस्ता ठूला सवारीसाधनका लागि काठमाडौं प्रवेश शुल्क २६० रुपैयाँ तोकिएको छ। यस्ता सवारीसाधनले काठमाडौंबाट बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
मल्टी एक्सल ट्रक, भारी सवारीसाधन र भारी उपकरणका लागि सबैभन्दा बढी शुल्क निर्धारण गरिएको छ। यस्ता सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।
सवारीसाधनको वर्ग र यात्राको दिशाका कारण हुने इन्धन खपतअनुसार शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार उपत्यका प्रवेश गर्दा उकाले पर्ने हुँदा बढी इन्धन खपत हुने भएकाले तुलनात्मक रुपमा बाहिरिँदाभन्दा महँगो शुल्क पर्न गएको हो।