BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढेर १ अर्ब नाघ्यो, खराब कर्जामा पनि आयो सुधार

२०८३ कात्तिक १२

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढेर १ अर्ब नाघ्यो, खराब कर्जामा पनि आयो सुधार
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढेर १ अर्ब नाघ्यो, खराब कर्जामा पनि आयो सुधार


काठमाडौं। सानिमा बैंकको खुद नाफा १३१.१३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको हो।

GBIME
Tata

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले करिब ४५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफासँगै प्रति सेयर आम्दानी र इक्विटी प्रतिफल पनि बढेको छ।

बैंकको प्रति सेयर आम्दानी १३.१५ रुपैयाँबाट बढेर २९.१७ रुपैयाँ पुगेको छ। इक्विटी प्रतिफल पनि अघिल्लो वर्षको ७.६८ प्रतिशतबाट बढेर १५.६० प्रतिशत कायम भएको छ।

बैंकको प्रति सेयर वितरणयोग्य मुनाफामा पनि सुधार आएको छ। यस्तो मुनाफा अघिल्लो वर्षको १९.२७ रुपैयाँबाट बढेर २७.५८ रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको खराब कर्जामा पनि सुधार देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.८६ प्रतिशतमा झरेको छ।

बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। खुद कर्जा तथा सापटी पनि १.६९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत छ। प्राथमिक पुँजी पर्याप्तता अनुपात भने ९.७० प्रतिशत कायम भएको बैंकको वित्तीय विवरणमा उल्लेख छ।