काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिले जलवायु न्याय र वातावरणीय न्यायको आवाज उठाउँदा दुई छिमेकी राष्ट्रसहित विश्व बजारमा नेपाली उत्पादनको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको छ।
समितिले बुधबार कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई बोलाएर छलफल गरी भारत र चीनका साथै तेस्रो देशमा नेपाली उत्पादनको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा उठाउन निर्देशन दिएको हो।
समितिका सभापति गणेश पराजुलीले भन्सारजन्य तथा गैरभन्सारजन्य व्यापार अवरोध हटाएर निर्यात विस्तार गर्न सके जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने क्षमता बलियो हुने बताए।

‘जलवायु वित्त, अनुदान र प्राविधिक सहयोगसँगै न्यायोचित व्यापारिक पहुँचको माग पनि अघि सारिनुपर्छ,’ उनले भने।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप-३१) कात्तिक २३ देखि मंसिर ४ सम्म टर्कीको अन्ताल्यामा हुँदैछ।