काठमाडौं । नेपाल राष्ट्र बैंकबाट बुधबार एकै दिन ३१ जना कर्मचारीले अवकाश पाएका छन्। करिब १ हजार २०० हाराहारी कर्मचारी रहेको राष्ट्र बैंकबाट असार मसान्तसम्म १६१ जना अवकाश हुनेछन्।
राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागका अनुसार आज बुधबार अवकाशपछि आगामी सोमबार अर्को समूहमा ठूलो संख्यामा कर्मचारीले अवकाश पाउने छन्।
आउने सोमबार थप ३४ जनाले अवकाश पाउनेछन्। त्यसपछि एकैपटक चैतमा र अर्को वर्ष असारमा कर्मचारीहरुले अवकाश पाउनेछन्।
बुधबार अवकाश पाउनेहरुमध्ये सबैभन्दा बढी उपनिर्देशक तहका कर्मचारी छन्।
आगामी सोमबार दुईजना निर्देशक तहका कर्मचारी सहित ३४ जना अवकाश हुने विभागले जनाएको छ। सो दिन ऋषिराम बराल र कामु निर्देशक प्रल्लाद गिरीले अवकाश पाउनेछन्।
राष्ट्र बैंकले २०५३ सालमा एकै पटक ३०० जना कर्मचारी नियुक्तिका लागि आवेदन खुलाएको थियो। काठमाडौं र बाहिरका लागि भनेर खुलाइएको आवेदनको नतिजा फरक फरक समयमा सार्वजनिक गरेर नियुक्ति दिइएको थियो।
बुधबार अवकाश भएकाहरु सबै काठमाडौं बाहिरका लागि नियुक्त गरिएकाहरु हुन्। फरक फरक समयमा काठमाडौं र त्यसबाहिर ३०० जना हाराहारी नियुक्त गरिए पनि उमेर, राजीनामा र अन्य कारणले १०० जना कर्मचारी भने पहिले नै बिदा भइसकेका छन्।
आगामी असार मसान्तसम्म करिब १५ जना कार्यकारी निर्देशक र निर्देशकहरुले अवकाश पाउनेछन्। त्यस्तै गरेर ११६ जना उपनिर्देशकले अवकाश पाउनेछन्। बाँकी त्यसभन्दा तल तहका कर्मचारी हुनेछन्।
कर्मचारी कटौती गर्ने योजनामा रहेको राष्ट्र बैंकले असारसम्म १६१ जना अवकाश हुँदा यसबीचमा ७१ जना नयाँ कर्मचारीहरु भने नियुक्त गरिसकेको छ।