काठमाडौं। रसुवा बाढीका कारण चीनबाट निर्माण सामग्री ल्याउन नसक्दा सिद्धबाबा सुरुङमार्ग सञ्चालनमा ल्याउने समय धकेलिएको छ।
आवश्यक उपकरण समयमा आइनपुगेर काम रोकिएपछि सुरुङमार्गमा गाडी सञ्चालन गर्ने समय तीन महिना धकेलिएको हो। सुरुङमार्गमा यसअघि असोज मसान्तसम्म गाडी सञ्चालन गर्ने तयारी थियो। सम्झौतामा भने आगामी चैतसम्म गाडी सञ्चालन गर्ने भनिएको छ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाकी इन्जिनियर निशा सापकोटाका अनुसार चीनबाट ल्याउनुपर्ने इलेक्ट्रोमेकानिकल तथा भेन्टिलेसन सिस्टमका उपकरण भोटेकोशी बाढीका कारण बाटोमा रोकिएका छन्। निर्माण कम्पनीले ती सामग्री बाटोमै रहेको जानकारी गराएको छ।
‘भोटेकोशी बाढीले रसुवा नाका बन्द हुँदा सामान ल्याउन समस्या भएको छ। केरुङ नाका रहेको सामान कोरोला नाकाबाट ल्याउने कुरा भएकामा यता पनि कालीगण्डकीको बाढीले सडक र पुलमा क्षति पुगेका कारण कम्पनीले सामान ल्याउन पाएन,’ सापकोटाले भनिन्।
उनका अनुसार आवश्यक सामग्री आइपुगेपछि जडान गर्न दुई महिना लाग्ने अनुमान छ।
सुरुङमार्गमा लाइट, भेन्टिलेसन, सेन्सर, क्यामेरा, फायर फाइटिङ तथा प्राथमिक उपचारका सामग्री, फ्यान र सञ्चार उपकरण जडान गर्न बाँकी छ। सुरुङमार्गमा सिभिल निर्माणको काम भने सम्पन्न भइसकेको छ।
सुरुङमार्गमा अहिले पेन्टिङ, सुरुङबाहिर तारमा एएसी ब्लक लगाउनेलगायत काम भइरहेको छ। आयोजनाको कार्यालय भवन निर्माण भइरहेको छ भने टर्मिनल भवनको काम करिब ९० प्रतिशत सकिएको छ।
जोखिम न्यूनीकरणका काम बाँकी
सिभिल निर्माण सम्पन्न भए पनि सुरुङमार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली जडान र बाहिरी जोखिम न्यूनीकरणका काम बाँकी छन्।
स्लोप प्रोटेक्सन र रक सेड निर्माणका लागि निर्माण कम्पनी र आयोजनाले डिजाइन तथा ड्रइङ तयार पारेर दसैंअघि नै सडक विभागमा पेस गरिसकेका छन्।
डिजाइन हाल स्वीकृतिको चरणमा छ। विभागले स्वीकृत गरेपछि मात्रै निर्माण सुरु गर्ने आयोजनाले जनाएको छ। ‘विभागले जति छिटो स्वीकृति दिन्छ, त्यति छिटो काम सुरु गर्न पाइन्छ। अहिले निर्माण कम्पनीले पूर्वतयारीका काम गरिरहेको छ,’ सापकोटाले भनिन्।
सुरुङमार्गमा गाडी गुडाउन थालेपछि मात्रै रक सेड र स्लोप प्रोटेक्सनको काम पूर्ण क्षमतामा अघि बढाउन सकिनेछ।