BIZMANDU
www.bizmandu.com

बेलायतमा मानिसहरुले किन पानीका बोतलदेखि खाद्यान्न र रेडियो राख्न थाले स्टक?

२०८३ कात्तिक १०

बेलायतमा मानिसहरुले किन पानीका बोतलदेखि खाद्यान्न र रेडियो राख्न थाले स्टक?
बेलायतमा मानिसहरुले किन पानीका बोतलदेखि खाद्यान्न र रेडियो राख्न थाले स्टक?


बेलायतमा मानिसहरुले विभिन्न सामानहरु मौज्दात (स्टक) मा राख्न थालेका छन्। आपत्कालीन अवस्थाका लागि पूर्वतयारीस्वरूप अत्यावश्यक सामान स्टक गरिएकोसँगै बेलायतका केही खुद्रा विक्रेताहरूका सामानको बिक्रीमा अत्यधिक वृद्धि भएको बीबीसीले जनाएको छ।

GBIME
Tata

बेलायतमा सरकारको आह्वानसँगै खाद्य तथा अन्य आपत्कालीन सामग्रीको माग ह्वात्तै बढेको छ। गत हप्ता बेलातयी रक्षा मन्त्री वेस स्ट्रिटिङले साइबर आक्रमण वा चरम मौसमी प्रतिकूलता जस्ता विपद्को सामना गर्न सर्वसाधारणलाई आवश्यक वस्तुहरू जोहो गरेर राख्न अपिल गरेका थिए।

सरकारको ‘बी रेडी’ अभियानअन्तर्गत मन्त्री स्ट्रिटिङले प्रतिव्यक्ति दैनिक तीन लिटर पानी, बट्टाका खानेकुरा, शिशु आहार, ब्याट्रीबाट चल्ने टर्च र मोबाइल पावर बैंक जस्ता सामान सुरक्षित राख्न आग्रह गरेका थिए।

सरकारी आह्वानपछि सुपरमार्केटसँगै खुद्रा पसलहरूमा ग्राहकको चाप बढेको हो। आइसल्याण्ड सुपरमार्केटमा साताको अन्त्यसम्म टिन प्याक गरिएका खानेकुराको बिक्रीमा ४० प्रतिशतले वृद्धि भएको जनाइएको छ। साथै, बोतलको पानीको बिक्रीमा पनि तीव्र वृद्धि देखिएको छ।

म्यापलीनमा अघिल्लो महिनाको तुलनामा टर्चको बिक्री २८४ प्रतिशत, पावर बैंकको १०६ प्रतिशत र रेडियोको बिक्री ९२ प्रतिशतले बढेको छ।

रोबर्ट डायासमा गत हप्ताको तुलनामा रेडियोको बिक्री १६० प्रतिशतले बढेको बताएको छ। यो आह्वानले अनलाइन खुद्रा विक्रेताहरूमा अझ बढी प्रभाव परेको छ। ’सार्जन्ट प्रिपर्स’को बिक्री १० गुणाले बढेको छ भने मुख्यगरी विन्ड–अप रेडियोको माग उच्च रहेको बताइएको छ। त्यस्तै, ’प्रिपर्स शप युके’ को बिक्रीमा ६५० प्रतिशतको वृद्धि भएको छ।

बेलायतमा सुपरमार्केट तथा खुद्रा विक्रेताहरुकोमा सामानको माग उच्च भए तापनि बजारमा आपत्कालीन सामग्रीको आपूर्ति स्थिति सामान्य र पर्याप्त रहेको दाबी गरिएको छ।