BIZMANDU
www.bizmandu.com

अर्णव चक्रवातको असर नेपालसम्म पर्ने, भारी वर्षाको पूर्वानुमानसँगै सतर्कता अपनाउन आग्रह

२०८३ कात्तिक १०

अर्णव चक्रवातको असर नेपालसम्म पर्ने, भारी वर्षाको पूर्वानुमानसँगै सतर्कता अपनाउन आग्रह
अर्णव चक्रवातको असर नेपालसम्म पर्ने, भारी वर्षाको पूर्वानुमानसँगै सतर्कता अपनाउन आग्रह


काठमाडौं । भारतमा ‘अर्णव’ चक्रवात प्रवेश गरेसँगै नेपालमा पनि सकर्तकता अपनाउन आग्रह गरिएको छ।

GBIME
Tata

मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी विहिबारदेखि सुरू भएर शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षा हुनसक्ने जनाएको हो।

ती दिन केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। सो चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनमको बीचमा पर्ने यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ। यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ।

नेपालमा कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुने र विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ।

कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुनसक्न विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ। सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेकार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।