BIZMANDU
www.bizmandu.com

सभामुखले अमेरिकी टोलीलाई भने- विपद्‍ सामना गर्न आर्थिक क्षमता भएका देशले सहयोग गर्नुपर्छ

२०८३ कात्तिक ९

सभामुखले अमेरिकी टोलीलाई भने- विपद्‍ सामना गर्न आर्थिक क्षमता भएका देशले सहयोग गर्नुपर्छ
सभामुखले अमेरिकी टोलीलाई भने- विपद्‍ सामना गर्न आर्थिक क्षमता भएका देशले सहयोग गर्नुपर्छ


काठमाडौं। सभामुख डीपी अर्यालसँग अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको टोलीले शिष्टाचार भेट गरेको छ।

GBIME
Tata

भेटका क्रममा नेपाल-अमेरिका सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायत साझा चासोका विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

सभामुख अर्यालले जलवायु परिवर्तनका कारण विपद्को उच्च जोखिममा रहेका क्षेत्रमा क्षति न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता सुदृढ गर्न अन्तर्राष्ट्रिय र अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

अर्यालले जलवायुजन्य विपद्को सामना गर्न आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रले जिम्मेवारपूर्वक सहकार्य र सहयोग गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ।

सभामुखले नेपाल-अमेरिका सम्बन्धलाई लगानी तथा आर्थिक साझेदारी अभिवृद्धितर्फ अघि बढाउनुपर्ने पनि बताए।

अमेरिकी संसदीय प्रतिनिधिमण्डलका सदस्यले नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन इच्छुक रहेको बताएका थिए।

भेटमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास र संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठ पनि सहभागी थिए।