काठमाडौं। कर्णाली याक्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान स्वदेश फर्किने भएका छन्।
एनपीएल खेल्न आएका फरहान राष्ट्रिय टोलीमा छनोट भएको जानकारी आएपछि फर्किने भएका हुन्।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ओडीआइमा परेपछि फरहान पाकिस्तान जान लागेको जानकारी दिए।
‘श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि पाकिस्तानले बोलाएपछि फरहान जाँदैछन्,’ उनले बिजमाण्डूसँग भने।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एनओसीका लागि २५ हजार अमेरिकी डलर मागेको थियो। घिमिरेले पाकिस्तानी खेलाडीका लागि २५ हजार डलर तिर्न पनि तयार रहेको अवस्थामा राष्ट्रिय टोलीमा राखेकै कारण फर्किनुपर्ने वातावरण बनेको बताए।
‘हामी २५ हजार डलर पनि तिर्न तयार थियौं। तर, राष्ट्रिय टोलीमा परेपछि फरहान फिर्ता हुनुको विकल्प रहेन,’ उनले भने, ‘पाकिस्तानसँग अहिले भइरहेको समस्याको समाधानको प्रयास भइरहेको छ।’