अमेरिकाको क्यालिफोर्निया राज्यका मतदाताहरुले आगामी चुनावमा एउटा प्रस्तावमाथि मतदान गर्दैछन्। त्यो हो – प्रपोजिसन ४०।
प्रपोजिसन ४० नाम दिइएको यो प्रस्ताव पारित भएमा क्यालिफोर्नियाका १ अर्ब डलरभन्दा बढी सम्पत्ति भएका अर्बपतिहरुमाथि ५ प्रतिशतको ‘वान–टाइम ट्याक्स’ (एकपटकका लागि मात्र) सम्पत्ति कर लागू हुनेछ।
यस करबाट करिब १०० अर्ब डलर (अहिलेको विनिमय दर अनुसार १५१ खर्ब रुपैयाँ भन्दा बढी) रकम संकलन गर्ने लक्ष्य राखिएको छ। जसको ९० प्रतिशत रकम संघीय अनुदान कटौतीका कारण संकटमा परेको राज्यको जनस्वास्थ्य सेवा प्रणालीलाई जोगाउन खर्च गरिने तयारी गरिएको बीबीसीले उल्लेख गरेको छ।
बाँकी १० प्रतिशत रकम खाद्य सहायता र शिक्षामा छुट्याइने प्रावधान राखिएको छ।
क्यालिफोर्नियामा करिब २०० भन्दा बढी अर्बपति बसोबास गर्छन्। यो नियम लागू भएमा मेटाका प्रमुख मार्क जुकरबर्ग, मिडिया मोगल ओप्रा विन्फ्रे, सेलिब्रिटी किम कार्दशियन र चलचित्र निर्माता जोर्ज लुकास जस्ता धनाढ्य प्रत्यक्ष प्रभावित हुनेछन्।
नियम अनुसार १ जनवरी २०२६ सम्म क्यालिफोर्नियामा बसोबास गरेका १ अर्ब डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिहरुमाथि यो कर लागू हुनेछ।
मेटा प्रमुख जुकरबर्गले यो कर लागू भएमा सम्भावित १२.५ अर्ब डलर (करिब १६ खर्ब रुपैयाँ) तिर्नुपर्ने आंकलन गरिएको छ।
यो प्रस्ताव सार्वजनिक भएसँगै क्यालिफोर्नियाका अर्बपतिहरुबीच तीव्र असन्तुष्टि फैलिएको बताइएको छ। करबाट बच्न गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिन, भेन्चर क्यापिटलिस्ट पिटर थिल र पूर्व युबर सिइओ ट्रेभिस कलानिक जस्ता कम्तीमा ६ जना शीर्ष अर्बपतिहरुले राज्य छाडिसकेका छन्।
मार्क जुकरबर्गले पनि आफ्नो बसोबास क्यालिफोर्निया बाहिर सार्ने चेतावनी दिएका थिए। त्यसपछि मेटाको संचालक समितिले उनलाई थप सेयर दिएर मनाउने प्रयास गरेको थियो।
गुगलका सहसंस्थापक सर्गेई ब्रिनले यो कर रोक्ने अभियानलाई १०० मिलियन डलरभन्दा बढी सहयोग गरेका छन्।
कुन धनाढ्यले कति सम्पत्ति दिनुपर्छ करमा?
| अर्बपति | कम्पनी | अनुमानित कुल सम्पत्ति | अनुमानित ५% कर |
| मार्क जुकरबर्ग | मेटा (फेसबुक) | २०० अर्ब डलर | १० देखि १२.५ अर्ब डलर |
| ल्यारी पेज | गुगल / अल्फाबेट | १४० अर्ब डलर | ७ अर्ब डलर |
| सर्गेई ब्रिन | गुगल / अल्फाबेट | १३० अर्ब डलर | ६.५ अर्ब डलर |
| जेन्सन ह्वाङ | एनभिडिया | ११५ अर्ब डलर | ५.७५ अर्ब डलर |
| पिटर थिल | पालान्टिर / फाउन्डर्स फण्ड | ११ अर्ब डलर | ५५० मिलियन डलर |
| जर्ज लुकास | लुकासफिल्म / डिज्नी | ५.३ अर्ब डलर | २६५ मिलियन डलर |
| ओप्रा विन्फ्रे | हार्पो प्रोडक्सन / मिडिया | ३.० अर्ब डलर | १५० मिलियन डलर |
| किम कार्दशियन | स्किम्स / केकेडब्ल्यू | १.७ अर्ब डलर | ८५ मिलियन डलर |
| एन्डी फ्याङ | डोरड्याश | १.६ अर्ब डलर | ८० मिलियन डलर |
गभर्नरको पनि विरोध
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले पनि यो प्रस्तावको विरोध गरेका छन्। धनीहरुले राज्य छाड्दा उनीहरुबाट प्राप्त हुने नियमित आयकर गुम्ने जोखिम रहेको गभर्नरको तर्क छ।
समर्थनमा को को?
अमेरिकाका चर्चित सेनेटर बर्नी स्यान्डर्सले भने यो प्रस्तावको पक्षमा जोडदार प्रचार गरिरहेका छन्।
स्वास्थ्यकर्मीहरुको युनियन र केही अर्बपतिहरुले पनि यसको समर्थन गरेका छन्।
एनभिडियाका सिइओ जेन्सन ह्वाङ र व्यवसायी टम स्टायरले राज्यको स्वास्थ्य प्रणाली बचाउन र बढ्दो आर्थिक असमानता कम गर्न यो कर उपयुक्त रहेको बताएका हुन्।
के होला मतदानमा?
बर्कले इन्स्टिच्युट अफ गभर्नमेन्टल स्टडिजको हालैको सर्वेक्षण अनुसार ४५ प्रतिशत मतदाता यस प्रस्तावको पक्षमा छन्। क्यालिफोर्नियामा निर्वाचन हुँदैछ। मत मेलबाट पठाउन सकिन्छ त्यसअघि पनि अक्टोबर ३१ मा तोकिएको केन्द्र पुगेर मतदान गर्न सकिनेछ। साथै, नोभेम्बर ३ मा समेत मतदान गर्न सकिनेछ।
४२ प्रतिशत विपक्षमा छन् भने १३ प्रतिशत अन्योलमा छन्। ५० प्रतिशतभन्दा बढी मत प्राप्त भएमा मात्र यो प्रस्ताव पारित हुनेछ।
विश्वकै चौथो ठूलो अर्थतन्त्र मानिने क्यालिफोर्नियामा एकातिर मेगा बिलिनियर्स बस्छन् भने अर्कोतिर अमेरिकाकै सबैभन्दा बढी घरबारविहीन मानिस बस्छन्।
त्यसैले यो मतदानले अमेरिकामा सम्पत्ति करको भविष्य निर्धारण गर्ने विश्लेषकहरुको भनाइ छ। यो प्रस्ताव पारित भएमा त्यसले अन्य राज्यहरुलाई पनि यस्तै कर लागू गर्न प्रेरित गर्न सक्ने उनीहरुको बुझाइ छ।