BIZMANDU
www.bizmandu.com

हिमालय नेपाल कृषि कम्पनी पहिलो वर्षमै नाफामा, चालु वर्ष १८ करोडको उपज बिक्री गर्ने

२०८३ कात्तिक ८

हिमालय नेपाल कृषि कम्पनी पहिलो वर्षमै नाफामा, चालु वर्ष १८ करोडको उपज बिक्री गर्ने
हिमालय नेपाल कृषि कम्पनी पहिलो वर्षमै नाफामा, चालु वर्ष १८ करोडको उपज बिक्री गर्ने


काठमाडौं। कृषिमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको हिमालय नेपाल कृषि कम्पनीले पहिलो वर्षमै नाफा कमाएको छ।

GBIME
Tata

म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा कुखुरापालन, माछापालन, तरकारी खेती, बाख्रापालन सुरु गरेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ३७ हजार ६ सय ८३ रुपैयाँ नाफा कमाएको हो।

करिब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले अहिले करिब १४ हजार कुखुरा र ८० हजार माछा पालन गरिरहेको छ। करिब १२ करोड रुपैयाँ संकलन गरी अहिलेसम्म ६ करोड रुपैयाँ लगानी गरेको कम्पनीले जनाएको छ।

कम्पनीको पहिलो साधारण सभा सम्पन्न भएको छ। सभाले कम्पनीका अध्यक्ष प्रा. डा. चण्डिका पण्डितले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन तथा प्रबन्ध सञ्चालक डोलेन्द्र प्रसाद शर्माले प्रस्तुत गरेको रणनीतिक योजनासहितको प्रतिज्ञा पत्र पारित गरेको छ।

कम्पनीकी अध्यक्ष पण्डितले निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसान केन्द्रित प्रणलीमा रूपान्तरण गर्न काम गरिरहेको बताइन्। ‘कृषकको उत्पादन, उत्पादकत्व, आम्दानी र बजारमा पहुँच कम्पनीको प्रमुख ध्येय हो,’ पण्डितले भनिन्, ‘कृषि, पशुपालन, मत्स्यपालन, प्रशोधन तथा कृषि पर्यटनलाई व्यावसायिक प्रणालीमा आवद्ध गर्छौं।’

प्रबन्ध सञ्चालक शर्माले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब १८ करोड रुपैयाँको कारोबार गर्ने योजनासहित काम भइरहेको बताए। उनका अनुसार कम्पनीले अहिले दैनिक एक लाख पचास हजारको कृषि तथा पशुजन्य उपज उत्पादन गरेर बिक्री गरिरहेको छ।