BIZMANDU
www.bizmandu.com

कुसुन्तीमा लिफ्टसहितको आकाशेपुल निर्माण अन्तिम चरणमा, कहिलेबाट आउँछ संचालनमा?

२०८३ कात्तिक ८

कुसुन्तीमा लिफ्टसहितको आकाशेपुल निर्माण अन्तिम चरणमा, कहिलेबाट आउँछ संचालनमा?
default


काठमाडौं। चक्रपथ अन्तर्गत ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको छ।

GBIME
Tata

अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकालाई सडक वारपार गर्न सहज बनाउने उद्देश्यले आकाशेपुल निर्माण गरिएको हो। पुलमा मुख्य संरचना जडान भइसकेको छ। अब लिफ्ट जडान र फिनिसिङको काम बाँकी छ।

ललितपुर महानगरपालिकाले डिजाइन गरेको पुल अपाङ्गमैत्रीका साथै परम्परागत आकाशेपुलभन्दा फरक स्वरुपमा तयार पारिएको छ। पुल अबको दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी छ।

कुसुन्ती हाइटमा सडक पार गर्ने क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पैदलयात्रीका लागि जोखिमपूर्ण बनेको यो स्थानमा दुर्घटना न्यूनीकरण गर्न लिफ्टसहितको आकाशेपुल तयार गर्न लागिएको बताए।

‘त्यसलाई मध्यनजर गर्दै हामीले सुरक्षाका लागि र अपाङ्गमैत्री बनाउन लिफ्ट राखेका छौँ। यसले अपाङ्गता भएका व्यक्तिलाई मात्र नभई ज्येष्ठ नागरिक र बालबालिकालाई पनि सहज हुनेछ,’ महर्जनले भने।

पुल निर्माणमा ५ करोड खर्च हुने अनुमान छ। लिफ्टसहितको पुल नेपालकै पहिलो भएको दाबी गरिएको छ।

महर्जनका अनुसार पुलको प्रारम्भिक डिजाइनमा स्तनपान कक्ष, सार्वजनिक शौचालय र कफी सपसमेत राख्ने योजना थियो।

तर, निर्माणका लागि स्वीकृति लिँदा ती संरचना बनाउन अनुमति नपाएपछि हाल लिफ्टसहितको आकाशेपुल मात्र निर्माण भइरहेको हो।

‘पहिले बनाइएको डिजाइनअनुसार भविष्यमा थप संरचना निर्माण गर्दै जाने हाम्रो योजना छ,’ महर्जनले भने।

ललितपुर महानगरले लिफ्टसहितको पुल पाटन अस्पताल अगाडि पनि निर्माण गर्दैछ। ‘हामी छिट्टै यसको शिलान्यास गर्दैछौं,’ महर्जनले भने।