काठमाडौं । एक घण्टामा नै ८ हजार रुपैयाँ कमाइ भयो। ३६ हजार लगानी गरे अझै कमाइ हुन्छ।
यस्तै लेखिएका पोस्ट र भिडियो तपाईंको सामाजिक संजालमा कतिको आइरहेको छ? यदी आएको भए यसमा भनिए जस्तै लिंक खोलेर प्रवेश नगर्नु होला!
पछिल्लो समय स्क्यामरहरुले ठगी गर्ने नयाँ नयाँ तरिका अप्नाइरहेका छन्। उनीहरुले आफ्ना जालमा मानिसहरुलाई पार्न सेलिब्रेटीदेखि उद्यमीसम्मको फोटो समेत राखेर प्रचार गरिरहेका छन्।
चिनिएका सेलिब्रेटी र उद्यमीको तस्विर देखेर आम मानिसले विश्वास गरेर लिंक खोल्न सक्छन्। लिंक खोलेर अगाडी बढ्दै जाँदा आफूसँग भएको पैसा पनि सकिएको सूचना अहिले प्रहरीकोमा आइरहेको छ।
यसरी मानिसहरुलाई जालोमा पार्ने कामलाई उनीहरुले ‘आइस फिसिङ’ नाम दिएका छन्।
ठगी गर्न उनीहरुले एप समेत डाउनलोड गर्न लगाउँछन्। तर, ती एपहरु गुगलको एप स्टोर वा एप्पल स्टोरमा भने उपलब्ध हुँदैन।
उनीहरुले लिंक दिएर ‘एपीके’ फाइल डाउनलोड गर्न भन्छन्। वा अन्य वेबसाइटको लिंकहरुबाट डाउनलोड गर्न लगाउँछन्।
तपाईंहरुलाई पनि यस्तै लिंक पठाइएको छ भने होसियार हुनुहोस्। तपाईं स्कामरको रडारमा हुनुहुन्छ।

‘पछिल्लो समय यस्तो लिंकमा गएर लोभमा परेर ठगिने मानिसको उजुरी बढेको छ,’ साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले भने।
नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरुलाई यस्तो लिंकहरु बन्द गर्न समेत ब्यूरोले विभिन्न निकाय मार्फत पत्राचार समेत गरेको छ।
त्यस्तै, प्रहरीले आम मानिसलाई यस्ता लोभमा परेर ठगिन बाट बच्न सावधानी अपनाउन पनि भनेको छ।
कलाकारदेखि व्यापारीसम्मको एआईबाट बनाएको फोटो प्रयोग गरेर आइस फिसिङ भइरहेको प्रहरीले जनाएको छ। तर, पछिल्ला दिनमा यस्ता घटनाहरु बढे पनि उजुरी भने दिनेको कमी भएको प्रहरीको बुझाइ छ।
त्यस्तै, बैंकहरुको नामबाट मेसेज गर्ने र ठगी गर्ने समूह पनि सक्रिय बनेको छ। त्यसैले कुनै बैंकबाट मेसेज आउँदा त्यसको आधारिकता जाँच्न प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरी साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो निवेदन संख्या १८ हजार ९२६ थियो भने आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७३० थियो।
गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता हुँदा १५५ जना पक्राउ परेका थिए।
दर्ता भएका निवेदनमध्ये सबैभन्दा धेरै सामाजिक संजालको दुरुपयोगसँग सम्बन्धित छन्। फेसबुक/मेसेन्जरबाट ७ हजार १२३, टिकटकबाट ६ हजार ७७६, ह्वाट्सएपबाट ३ हजार १०५, टेलिग्रामबाट १ हजार ३१ र इन्स्टाग्रामबाट ६२८ वटा निवेदन परेका छन्।
ई–सेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७४४ वटा निवेदन दर्ता भएका छन्। प्रहरीका लागि पनि साइबर ठगी र बैंकिङ कसुर बढ्दो चुनौती बनेको छ।