BIZMANDU
www.bizmandu.com

विश्वभर गाडीको बिक्री घट्दा युरोपमा ईभीको बजार हिस्सा बढ्यो, चिनियाँ गाडीको दबाब तीव्र

२०८३ कात्तिक ६

विश्वभर गाडीको बिक्री घट्दा युरोपमा ईभीको बजार हिस्सा बढ्यो, चिनियाँ गाडीको दबाब तीव्र
विश्वभर गाडीको बिक्री घट्दा युरोपमा ईभीको बजार हिस्सा बढ्यो, चिनियाँ गाडीको दबाब तीव्र


काठमाडौं। सन् २०२६ को पहिलो ६ महिनामा विश्वभर नयाँ कारको दर्ता ४.९ प्रतिशतले घटेको छ। तर, युरोपेली संघ (ईयू) मा कारको दर्ता ५.७ प्रतिशतले बढेको छ।

GBIME
Tata

युरोपेली बजारमा विद्युतीय कारको हिस्सा बढ्दै जाँदा चिनियाँ गाडीको आयातले भने त्यहाँका उत्पादकलाई थप दबाब दिएको छ।

चीनको घरेलु बजारमा आएको गिरावट, खाडीको द्वन्द्व, बढ्दो ऊर्जा लागत र विभिन्न क्षेत्रको कमजोर मागका कारण विश्वव्यापी कार बजार प्रभावित भएको हो। तर, यही अवधिमा ईयू मा नयाँ कारको दर्ता बढेको छ भने विद्युतीय कारको बजार हिस्सा पनि उल्लेख्य रूपमा विस्तार भएको छ।

युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीईए) ले सार्वजनिक गरेको ‘इकोनोमिक एन्ड मार्केट रिपोर्ट-फर्स्ट हाफ २०२६’ अनुसार सन् २०२६ को पहिलो ६ महिनामा विश्वभर ३ करोड ५६ लाख ८० हजार ७९३ नयाँ कार दर्ता भएका छन्। यो सन् २०२५ को सोही अवधिको तुलनामा ४.९ प्रतिशत कम हो।

सन् २०२५ को पहिलो ६ महिनामा विश्वभर ३ करोड ७५ लाख १ हजार १४४ कार दर्ता भएका थिए।

विश्वव्यापी बजारमा गिरावट आए पनि सबै क्षेत्रको अवस्था भने समान छैन। दक्षिण अमेरिकामा नयाँ कारको दर्ता १६.९ प्रतिशतले बढेको छ। युरोपेली संघमा ५.७ प्रतिशत र भारतमा १७.७ प्रतिशतको वृद्धि देखिएको छ।

तर, एसियाली बजार समग्रमा ११ प्रतिशतले खुम्चिएको छ। विश्वको सबैभन्दा ठूलो कार बजारमध्ये एक चीनमा नयाँ कारको दर्ता २३.२ प्रतिशतले घटेपछि एसियाली बजारमा ठूलो गिरावट आएको हो।

अर्कोतर्फ, विश्व कार उत्पादन पनि १ प्रतिशतले घटेर ३ करोड ७५ लाख ५० हजार ३४६ युनिटमा सीमित भएको छ। उत्पादन र बिक्री दुवैमा आएको सुस्तताले विश्व अटोमोबाइल उद्योगले माग, लागत र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी चुनौती सामना गरिरहेको देखाएको छ।

चीनमा कार बिक्री २३.२ प्रतिशतले घट्यो, भारतमा बढ्यो

विश्वको कुल नयाँ कार दर्तामा एसियाको हिस्सा ४४.७ प्रतिशत छ। तर सन् २०२६ को पहिलो ६ महिनामा यस क्षेत्रमा १ करोड ५९ लाख ६४ हजार ५५४ कार दर्ता भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत कम हो।

एसियाली बजारमा चीनको गिरावट सबैभन्दा ठूलो देखिएको छ। चीनमा नयाँ कारको दर्ता १ करोड १० लाख ९ हजार ८०३ युनिटबाट घटेर ८४ लाख ६० हजार ५०१ युनिटमा झरेको छ। अर्थात्, एक वर्षको अवधिमा २३.२ प्रतिशतको गिरावट आएको हो। विश्वभर दर्ता भएका नयाँ कारमध्ये चीनको हिस्सा २३.७ प्रतिशत छ।

चीनमा सरकारी खरिद प्रोत्साहन र पुराना गाडी साटेर नयाँ किन्ने योजनाको सहयोग घट्नु, उत्पादन लागत बढ्नु तथा थप नयाँ मोडल आउने प्रतीक्षामा ग्राहकले खरिद निर्णय पछि सार्नु बिक्री घट्नुका कारण रहेको रिपोर्टमा उल्लेख छ। चिनियाँ उत्पादकले घरेलु बजारको सुस्तताबीच अन्तर्राष्ट्रिय बजारमा बिक्री विस्तार गर्न थालेका छन्।

यसको विपरीत भारतमा नयाँ कारको दर्ता १७.७ प्रतिशतले बढेर २६ लाख ३४ हजार ५१८ युनिट पुगेको छ। अघिल्लो वर्षको पहिलो ६ महिनामा भारतमा २२ लाख ३८ हजार ४८९ कार दर्ता भएका थिए। विश्वको कुल कार दर्तामा भारतको हिस्सा ७.४ प्रतिशत पुगेको छ।

भारतमा आर्थिक अवस्थाको तुलनात्मक मजबुती, उपभोग बढाउने नीतिगत व्यवस्था र उपभोक्ताको सकारात्मक मनोभावले कार बजारलाई सहयोग गरेको रिपोर्टमा उल्लेख छ। दक्षिण कोरियामा कार दर्ता २.१ प्रतिशतले बढेर ७ लाख ४५ हजार ३८१ युनिट पुगेको छ। जापानमा भने ०.१ प्रतिशतको सामान्य गिरावटसँगै १९ लाख ८६ हजार ८२७ कार दर्ता भएका छन्।

थाइल्यान्डमा कार उत्पादन ०.६ प्रतिशतले घट्दा दक्षिण कोरियाको उत्पादन १.६ प्रतिशतले खुम्चिएको छ। तर भारतको कार उत्पादन १३.८ प्रतिशतले बढेर २९ लाख ९१ हजार ७९५ युनिट पुगेको छ। जापानमा उत्पादन २.५ प्रतिशत र इन्डोनेसियामा ५.९ प्रतिशतले बढेको छ।

युरोपमा कार बिक्री ५.७ प्रतिशतले बढ्यो

विश्व बजारमा गिरावट आए पनि युरोपेली संघमा नयाँ कारको दर्ता बढेको छ। सन् २०२६ को पहिलो ६ महिनामा ईयूमा ५९ लाख ६८ हजार ६८३ कार दर्ता भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशत बढी हो।

ईयूका प्रमुख बजारमध्ये अस्ट्रियामा सबैभन्दा उच्च १५ प्रतिशतको वृद्धि देखिएको छ। त्यहाँ १ लाख ६४ हजार ५२९ कार दर्ता भएका छन्। इटालीमा ९.५ प्रतिशतले बढेर ९ लाख ३६ हजार ४५ कार दर्ता भएका छन्। पोल्यान्डमा ९.४ प्रतिशतको वृद्धिसँगै ३ लाख १२ हजार ३३ कार दर्ता भएका छन्।

स्पेनमा कार दर्ता ६.२ प्रतिशतले बढेर ६ लाख ४७ हजार ७११ युनिट पुगेको छ। जर्मनीमा ५.८ प्रतिशतको वृद्धिसँगै १४ लाख ८४ हजार ३९३ कार दर्ता भएका छन्। फ्रान्समा १.८ प्रतिशतले बढेर ८ लाख ५७ हजार १६५ कार दर्ता भएका छन्।

यद्यपि, सबै बजारमा वृद्धि भएको छैन। बेल्जियममा कार दर्ता १.७ प्रतिशतले घटेर २ लाख ३० हजार ६८१ युनिट र नेदरल्यान्ड्समा ४.२ प्रतिशतले घटेर १ लाख ७४ हजार ७८९ युनिटमा सीमित भएको छ।

ईयूमा दर्ता भएका कुल कारमध्ये जर्मनीको हिस्सा २५.२ प्रतिशत छ। इटालीको हिस्सा १५.९ प्रतिशत, फ्रान्सको १४.५ प्रतिशत र स्पेनको ११ प्रतिशत छ। यी आठ ठूला बजार-जर्मनी, फ्रान्स, इटाली, स्पेन, पोल्यान्ड, बेल्जियम, नेदरल्यान्ड्स र अस्ट्रिया-ले ईयूको कुल नयाँ कार दर्ताको ८१.५ प्रतिशत हिस्सा ओगटेका छन्।

ईयूभन्दा बाहिर युरोपमा समग्र कार दर्ता ५.६ प्रतिशतले बढेको छ। बेलायतमा ९.२ प्रतिशतले बढेर ११ लाख ३७ हजार ९२९ कार दर्ता भएका छन्। रुसमा १४.९ प्रतिशतको वृद्धि देखिएको छ। तर टर्कीमा ९.८ प्रतिशत र युक्रेनमा ८.१ प्रतिशतले कार दर्ता घटेको छ। युरोपेली स्वतन्त्र व्यापार संगठन (ईएफटीए) अन्तर्गतका देशमा भने ०.२ प्रतिशतको सामान्य वृद्धि भएको छ।

युरोपमा विद्युतीय कारको हिस्सा २०.७ प्रतिशत

ईयूको कार बजारमा विद्युतीय गाडीको हिस्सा बढ्दै गएको छ। सन् २०२६ को पहिलो ६ महिनामा ब्याट्रीबाट चल्ने विद्युतीय कार (बीईभी) को बजार हिस्सा २०.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा १५.६ प्रतिशत थियो।

हाइब्रिड कार भने ईयूका उपभोक्ताको सबैभन्दा लोकप्रिय विकल्प बनेका छन्। कुल नयाँ कार दर्तामध्ये हाइब्रिडको हिस्सा ३७.३ प्रतिशत छ। पेट्रोल र डिजेल कारको संयुक्त हिस्सा भने अघिल्लो वर्षको ३७.८ प्रतिशतबाट घटेर २९.७ प्रतिशतमा झरेको छ।

देशगत रूपमा हेर्दा डेनमार्कमा नयाँ कार दर्तामध्ये ७९.९ प्रतिशत ब्याट्री विद्युतीय कार छन्। ईएफटीए देशमा यस्तो हिस्सा ५२ प्रतिशत छ। नेदरल्यान्ड्समा ३६.५ प्रतिशत र बेल्जियममा ३६.१ प्रतिशत कार बीईभी छन्।

फ्रान्समा बीईभीको हिस्सा २८.२ प्रतिशत, बेलायतमा २५ प्रतिशत, जर्मनीमा २४.८ प्रतिशत र अस्ट्रियामा २४.३ प्रतिशत छ। स्पेनमा यस्तो हिस्सा ९.८ प्रतिशत, इटालीमा ८.५ प्रतिशत र पोल्यान्डमा ५.३ प्रतिशत मात्रै छ।

ईयूमा प्लग-इन हाइब्रिड कारको हिस्सा ९.८ प्रतिशत छ। पेट्रोल कारको हिस्सा २२.२ प्रतिशत र डिजेलको ७.५ प्रतिशत छ। डेनमार्कमा विद्युतीय कारको उच्च हिस्साले केही युरोपेली बजारमा परम्परागत इन्धनबाट चल्ने कारको विकल्पका रूपमा बीईभीको प्रयोग तीव्र रूपमा बढिरहेको देखाउँछ।

व्यावसायिक गाडीमा पनि विद्युतीय प्रविधिको प्रयोग बढेको छ। ईयूमा विद्युतीय भ्यानको बजार हिस्सा १३.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ९.५ प्रतिशत थियो। विद्युतीय ट्रकको हिस्सा ४.८ प्रतिशत र विद्युतीय बसको हिस्सा २७.७ प्रतिशत पुगेको छ।

युरोपमा उत्पादन घट्यो, चीनको हिस्सा बढ्यो

कारको बिक्री बढे पनि ईयूभित्रै उत्पादन भने घटेको छ। सन् २०२६ को पहिलो ६ महिनामा ईयूमा ६० लाख ४ हजार ९०० कार उत्पादन भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशत कम हो।

ईयूको सबैभन्दा ठूलो कार उत्पादक जर्मनीमा २० लाख ५३ हजार ७७९ कार उत्पादन भएका छन्। तर उत्पादन २.३ प्रतिशतले घटेको छ। स्पेनमा उत्पादन २.७ प्रतिशतले घटेर ९ लाख २४ हजार ९२ युनिटमा सीमित भएको छ।

यसको विपरीत, चेकियामा कार उत्पादन ५.१ प्रतिशतले बढेर ७ लाख ८२ हजार ९०१ युनिट पुगेको छ। स्लोभाकियामा ०.८ प्रतिशतले बढेर ५ लाख ७६ हजार ४१५ र फ्रान्समा २.९ प्रतिशतले बढेर ५ लाख १७ हजार ४२० कार उत्पादन भएका छन्।

हंगेरीमा उत्पादन ८.२ प्रतिशतले बढेको छ भने इटालीमा २४.५ प्रतिशतको वृद्धि देखिएको छ। रोमानियामा भने १३.६ प्रतिशत, स्विडेनमा ५.४ प्रतिशत र पोर्चुगलमा ०.९ प्रतिशतले उत्पादन घटेको छ।

विश्वव्यापी रूपमा कार उत्पादन १ प्रतिशतले घटेको छ। कुल उत्पादन ३ करोड ७५ लाख ५० हजार ३४६ युनिट छ। यसमध्ये एसियाको हिस्सा ५९.९ प्रतिशत अर्थात् २ करोड २५ लाख ८ हजार ३८० युनिट छ।

चीनमा १ करोड २३ लाख ३६ हजार ९४४ कार उत्पादन भएका छन्। यो अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशत कम हो। चीनमा सन् २०२० पछि पहिलो पटक कार उत्पादन घटेको रिपोर्टले उल्लेख गरेको छ।

अमेरिकामा उत्पादन १.४ प्रतिशतले बढेर ३७ लाख ४० हजार ९२९ युनिट पुगेको छ। जापानमा २.५ प्रतिशत, भारतमा १३.८ प्रतिशत र ब्राजिलमा १२ प्रतिशतले कार उत्पादन बढेको छ।

उत्तर अमेरिकाको उत्पादन १.४ प्रतिशतले घटेको छ भने दक्षिण अमेरिकामा ७.६ प्रतिशतले वृद्धि भएको छ। मध्यपूर्व र अफ्रिकामा उत्पादन १७.८ प्रतिशतले घटेको छ।

ईयूमा बिक्री हुने कारमध्ये ईयूभित्रै उत्पादन भएका कारको हिस्सा घटेर ६८ प्रतिशतमा झरेको छ। जर्मनीमा उत्पादित कारको हिस्सा २० प्रतिशत, स्पेनको १२ प्रतिशत र चेकियाको १० प्रतिशत छ। गैरईयू मुलुकमध्ये चीनमा उत्पादन भएका कारको हिस्सा बढेर ९ प्रतिशत पुगेको छ। जापान र दक्षिण कोरियाको हिस्सा ४-४ प्रतिशत छ भने टर्कीको ४ प्रतिशत र मोरक्कोको ३ प्रतिशत छ।

यसले युरोपेली बजारमा स्थानीय उत्पादनको तुलनामा आयातित गाडीको उपस्थिति बढिरहेको देखाउँछ। विशेषगरी चिनियाँ कार उत्पादकको बढ्दो प्रतिस्पर्धाले युरोपेली उद्योगमाथि दबाब थपेको छ।

चीनबाट युरोपमा कार आयात ७०.५ प्रतिशतले बढ्यो

ईयूको कार व्यापारमा सबैभन्दा उल्लेखनीय परिवर्तन चीनबाट हुने आयातमा देखिएको छ। सन् २०२६ को पहिलो ६ महिनामा ईयूले गैरईयू मुलुकबाट २० लाख ३९ हजार ७१५ नयाँ कार आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.१ प्रतिशत बढी हो।

आयातको मूल्य १५.६ प्रतिशतले बढेर ४० अर्ब ६६ करोड ९० लाख युरो पुगेको छ। तर निर्यातको मूल्य १२ प्रतिशतले घटेर ६९ अर्ब ३८ करोड ३० लाख युरोमा सीमित भएको छ।

यसको परिणामस्वरूप ईयूको नयाँ कार व्यापार बचत ३४.२ प्रतिशतले घटेर २८ अर्ब ७१ करोड ५० लाख युरोमा झरेको छ। अघिल्लो वर्षको पहिलो ६ महिनामा यस्तो बचत ४३ अर्ब ६३ करोड ३० लाख युरो थियो। एक वर्षमै व्यापार बचत करिब १५ अर्ब युरोले घटेको छ।

चीनबाट आयात हुने कारको मूल्य ७०.५ प्रतिशतले बढेर १० अर्ब ५४ करोड १० लाख युरो पुगेको छ। मूल्यका आधारमा ईयूको कुल गैरईयू कार आयातमा चीनको हिस्सा २५.९ प्रतिशत छ।

परिमाणका आधारमा चीनबाट ७ लाख ८ हजार ९०८ कार आयात भएका छन्। यो अघिल्लो वर्षको तुलनामा ५२.८ प्रतिशत बढी हो। गैरईयू मुलुकबाट आयात भएका कुल कारमध्ये चीनको हिस्सा ३४.८ प्रतिशत पुगेको छ।

जापानबाट २ लाख ४१ हजार ९३५ कार आयात भएका छन्, जुन १० प्रतिशत बढी हो। मोरक्कोबाट आयात १३.३ प्रतिशतले बढेर २ लाख २० हजार ५५७ युनिट पुगेको छ। तर टर्कीबाट आयात २३.२ प्रतिशतले घटेर २ लाख २६ हजार ३८८ र दक्षिण कोरियाबाट ७.१ प्रतिशतले घटेर १ लाख ८२ हजार ९७७ युनिटमा सीमित भएको छ।

मूल्यका आधारमा ईयूको कुल कार आयातमा जापानको हिस्सा १४.२ प्रतिशत, बेलायतको १२.१ प्रतिशत, टर्कीको १०.७ प्रतिशत र दक्षिण कोरियाको १०.५ प्रतिशत छ।

चीनबाट हुने आयातको मूल्य र परिमाण दुवै तीव्र रूपमा बढ्नुले युरोपेली बजारमा चिनियाँ उत्पादकको उपस्थिति विस्तार भइरहेको देखाउँछ। रिपोर्टअनुसार आयातको परिमाण मूल्यभन्दा छिटो बढेकाले तुलनात्मक रूपमा कम मूल्यका गाडीको हिस्सा पनि बढेको हुन सक्छ।

युरोपेली कार निर्यातमा गिरावट

ईयूले सन् २०२६ को पहिलो ६ महिनामा २१ लाख ७६ हजार २०१ नयाँ कार निर्यात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशत कम हो। निर्यातको कुल मूल्य १२ प्रतिशतले घटेर ६९ अर्ब ३८ करोड ३० लाख युरोमा सीमित भएको छ।

मूल्यका आधारमा ईयूका कारको सबैभन्दा ठूलो निर्यात बजार बेलायत हो। बेलायततर्फ १८ अर्ब ३६ करोड ४० लाख युरोबराबरका कार निर्यात भएका छन्। यो अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशत कम हो।

अमेरिकातर्फ निर्यातको मूल्य १४.४ प्रतिशतले घटेर १४ अर्ब ९१ करोड ५० लाख युरोमा झरेको छ। टर्कीतर्फ २०.४ प्रतिशतले घटेर ६ अर्ब २४ करोड ४० लाख युरो र चीनतर्फ ३७.२ प्रतिशतले घटेर ३ अर्ब २० करोड १० लाख युरोमा सीमित भएको छ। स्विट्जरल्यान्डतर्फ निर्यात भने ०.४ प्रतिशतले बढेर ३ अर्ब ५८ करोड ६० लाख युरो पुगेको छ।

ईयूको कुल कार निर्यात मूल्यमा बेलायतको हिस्सा २६.५ प्रतिशत र अमेरिकाको २१.५ प्रतिशत छ। यी दुई बजारले मात्रै कुल निर्यात मूल्यको ४८ प्रतिशत हिस्सा ओगटेका छन्।

परिमाणका आधारमा बेलायततर्फ ६ लाख ५६ हजार ४८० कार निर्यात भएका छन्। अमेरिकातर्फ ३ लाख ४६ हजार ८२२, टर्कीतर्फ ३ लाख १ हजार ५८४ र स्विट्जरल्यान्डतर्फ ८८ हजार ५३० युनिट निर्यात भएका छन्।

ईयूमा उत्पादित कारको एकतिहाइभन्दा बढी हिस्सा परम्परागत रूपमा गैरईयू बजारमा बिक्री हुँदै आएको थियो। तर सन् २०२६ को पहिलो ६ महिनामा यस्तो हिस्सा घटेर ३२.४ प्रतिशतमा झरेको छ। ईयूमा उत्पादित कारको चीनमा बिक्री सन् २०२२ को पहिलो ६ महिनाको तुलनामा ५८ प्रतिशत कम हुँदै ७० हजार २ युनिटमा सीमित भएको छ।

चिनियाँ कारसँगको प्रतिस्पर्धा, अमेरिकी भन्सार शुल्क, कमजोर निर्यात माग र बढ्दो उत्पादन तथा ढुवानी लागतले युरोपेली उत्पादकको अन्तर्राष्ट्रिय व्यापारमा दबाब सिर्जना गरेको रिपोर्टको निष्कर्ष छ।

युरोपेली अर्थतन्त्रको सुस्तताले अटो उद्योगमा थप दबाब

कार बजारको अवस्था युरोपेली अर्थतन्त्रसँग पनि जोडिएको छ। रिपोर्टमा उल्लेख गरिएको युरोपेली आयोगको सन् २०२६ को वसन्तकालीन आर्थिक प्रक्षेपणअनुसार, ईयूको आर्थिक वृद्धिदर सन् २०२५ को १.५ प्रतिशतबाट घटेर सन् २०२६ मा १.१ प्रतिशतमा सीमित हुने अनुमान छ। सन् २०२७ मा भने १.४ प्रतिशत पुग्ने प्रक्षेपण छ।

मध्यपूर्वको द्वन्द्व र त्यसबाट उत्पन्न ऊर्जा संकटले आर्थिक वृद्धिको अनुमान कमजोर बनाएको रिपोर्टमा उल्लेख छ। सन् २०२६ मा ईयूको मुद्रास्फीति ३.१ प्रतिशत पुग्ने अनुमान छ, जुन अघिल्लो प्रक्षेपणभन्दा एक प्रतिशत बिन्दुले बढी हो। सन् २०२७ मा मुद्रास्फीति २.४ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।

ईयूको बेरोजगारी दर सन् २०२५ देखि २०२७ सम्म करिब ६ प्रतिशत रहने अनुमान छ। रोजगारी वृद्धिदर भने सन् २०२५ को ०.५ प्रतिशतबाट घटेर सन् २०२६ मा ०.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ। उत्पादकत्व वृद्धिदर ०.७ प्रतिशतमा झर्ने अनुमान छ।

सरकारी बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ३.१ प्रतिशतबाट बढेर सन् २०२६ मा ३.५ प्रतिशत र सन् २०२७ मा ३.६ प्रतिशत पुग्ने अनुमान छ। सार्वजनिक ऋणको अनुपात सन् २०२५ को ८२.८ प्रतिशतबाट बढेर सन् २०२७ को अन्त्यसम्म ८५.३ प्रतिशत पुग्ने प्रक्षेपण छ।

सन् २०२६ मा ईयूका सदस्य राष्ट्रमध्ये माल्टाको आर्थिक वृद्धिदर ३.७ प्रतिशत, पोल्यान्डको ३.५ प्रतिशत र लिथुआनियाको ३ प्रतिशत हुने अनुमान छ। स्पेनमा २.४ प्रतिशत, अमेरिकामा २.२ प्रतिशत र बेलायतमा १ प्रतिशत वृद्धिको प्रक्षेपण छ।

जर्मनीमा ०.६ प्रतिशत, इटालीमा ०.५ प्रतिशत र रोमानियामा ०.१ प्रतिशत मात्रै वृद्धि हुने अनुमान छ। आयरल्यान्डमा भने १.२ प्रतिशत आर्थिक संकुचन हुने प्रक्षेपण गरिएको छ।

ऊर्जा, उत्पादन र ढुवानी लागत बढ्नुका साथै लगानी तथा व्यापारमा सुस्तता आउँदा गाडी उत्पादन कम्पनीको लागत र ग्राहकको खरिद क्षमतामा दबाब पर्ने देखिन्छ। यस्ता चुनौतीले आगामी दिनमा युरोपेली अटोमोबाइल बजारको गति र विश्वव्यापी प्रतिस्पर्धालाई थप प्रभावित गर्न सक्ने रिपोर्टको निष्कर्ष छ।

युरोपेली अर्थतन्त्रमा अटो उद्योगको ठूलो योगदान

ईयूको अटोमोबाइल उद्योगले अर्थतन्त्र, रोजगारी, सरकारी राजस्व र अनुसन्धानमा ठूलो योगदान दिँदै आएको छ। एसीईएका अनुसार, युरोपमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १ करोड ३५ लाख मानिस अटो उद्योगसँग सम्बन्धित रोजगारीमा छन्। यो ईयूको कुल रोजगारीको ६.९ प्रतिशत हो।

ईयूको उत्पादन क्षेत्रमा रहेका रोजगारीमध्ये ८ प्रतिशत अर्थात् करिब २४ लाख रोजगारी अटोमोबाइल क्षेत्रमा छन्। प्रमुख युरोपेली बजारमा मोटर गाडीबाट सरकारहरूले ४२७ अर्ब १० करोड युरो कर राजस्व प्राप्त गर्छन्।

युरोपेली अटोमोबाइल उद्योगले ईयूका लागि ८४ अर्ब ७० करोड युरोको व्यापार बचत सिर्जना गर्ने गरेको रिपोर्टमा उल्लेख छ। यस उद्योगबाट उत्पन्न कारोबार ईयूको कुल गार्हस्थ्य उत्पादनको ८ प्रतिशतभन्दा बढी छ।

अनुसन्धान तथा विकासमा मात्रै युरोपेली अटो उद्योगले वार्षिक ८४ अर्ब ३० करोड युरो लगानी गर्छ। यो ईयूको कुल अनुसन्धान तथा विकास लगानीको ३३ प्रतिशत हो।

समग्रमा, सन् २०२६ को पहिलो ६ महिनाको तथ्यांकले विश्व कार बजार कमजोर भए पनि क्षेत्रगत रूपमा बजारको गति फरक रहेको देखाउँछ। चीनको घरेलु मागमा आएको गिरावट, भारतको वृद्धि, युरोपमा विद्युतीय कारको विस्तार, चिनियाँ कारको बढ्दो निर्यात र युरोपेली उत्पादकको कमजोर व्यापार बचतले विश्व अटोमोबाइल उद्योग प्रतिस्पर्धा र रूपान्तरणको चरणमा रहेको संकेत गर्छ।