काठमाडौं। विद्युत् आपूर्तिमा बारम्बार हुने ट्रिपिङ र महँगो जेनेरेटरको विकल्प खोज्दै नेपाली उद्योगीहरू आफ्नै परिसर र छतमा सोलार प्रणाली जडान गर्न आकर्षित भएका छन्।
विद्युत् उत्पादन क्षमता बढे पनि आपूर्तिको विश्वसनीयता र गुणस्तरमा समस्या रहेको भन्दै उद्योगहरूले सोलारलाई उत्पादन लागत घटाउने र सञ्चालनमा निरन्तरता कायम गर्ने विकल्पका रूपमा लिन थालेका हुन्।
मोरङ–सुनसरी, वीरगंज–पथलैया, भैरहवा तथा रूपन्देही क्षेत्रका सिमेन्ट, छड, प्लास्टिक, टेक्सटाइल र खाद्यान्न उद्योगले आफ्नै छत र खाली जमिनमा सोलार प्यानल जडान गर्ने क्रम बढाएका छन्।
नेपालमा जलविद्युतको कुल जडित क्षमता ४३०० मेगावाट नाघिसकेको अवस्थामा उद्योगीहरू सोलारतर्फ आकर्षित हुनुले ऊर्जाको व्यवस्थापनमा गुणस्तर र भरपर्दो आपूर्तिको आवश्यकता टड्कारो रहेको देखाएको छ।
घाम पावरका प्रमुख कार्यकारी अधिकृत अञ्जल निरौलाका अनुसार उद्योगमा विद्युत् आपूर्ति भरपर्दो नहुनु र बारम्बार ट्रिपिङ हुनु सोलारप्रतिको आकर्षण बढ्नुको मुख्य कारण हो।
‘उद्योगमा बिजुलीको क्वालिटी एकदमै कम छ। अर्कोतर्फ पाएको इनर्जी पनि रिलायबल छैन। हामीले गरेको अध्ययनअनुसार उद्योगहरूमा वर्षमा करिब ८०० पटकसम्म बिजुली ट्रिपिङ हुने गरेको छ,’ निरौलाले भने, ‘यसले गर्दा उत्पादन प्रक्रिया बीचमै रोकिने, कच्चा पदार्थ बिग्रने र उद्योगका बहुमूल्य मेसिनरी सामान नष्ट हुनेजस्ता गम्भीर समस्या देखिएका छन्।’
उनका अनुसार विद्युत् ट्रिप हुँदा ठूला मेसिन बन्द हुने र पुनः सञ्चालनमा ल्याउन कम्तीमा ३० मिनेट लाग्ने अवस्था छ। यसले उत्पादन समय खेर जाने, श्रमिकको समय खपत हुने र उद्योगको लागत बढ्ने समस्या निम्त्याउँछ। सोलार प्रणालीले यस्तो जोखिम कम गर्न सहयोग गर्ने उद्योगीहरूको भनाइ छ।
हाल विभिन्न जिल्लामा घर, उद्योग, अस्पताल, विद्यालय तथा अन्य व्यावसायिक संरचनाका छतमा सोलार जडान गरेर करिब ७० मेगावाट विद्युत् उत्पादन भइरहेको तथ्यांक छ। उपलब्ध छत र खाली जमिनको उपयोग गरेर सोलार जडान गर्दा प्राधिकरणबाट खरिद गर्नुपर्ने विद्युतको परिमाण घटाउन सकिन्छ।
घाम लागेका बेला आफ्नै प्रणालीबाट विद्युत् उत्पादन गर्न सकिने भएकाले यसले सञ्चालन खर्च कम गर्न मद्दत पुग्ने उद्योगीहरू बताउँछन्।
निरौलाका अनुसार ब्याट्री ब्याकअपसहित एक मेगावाट क्षमताको सोलार प्रणाली जडान गर्न करिब नौ करोड रुपैयाँ खर्च लाग्छ। जलविद्युत् आयोजनामा प्रतिमेगावाट लागत करिब २० करोड रुपैयाँ पुग्ने गरेको उनको भनाइ छ। यद्यपि यी दुई प्रविधिको लागत तुलना गर्दा आयोजनाको प्रकृति, ब्याट्रीको क्षमता, प्रसारण संरचना र विद्युत् उत्पादनको समयावधिजस्ता पक्ष पनि विचार गर्नुपर्ने हुन्छ।
घाम पावरले लक्ष्मी स्टिलको कारखानामा चार मेगावाट आवर (४ एमडब्ल्यूएच) क्षमताको ब्याट्री ऊर्जा भण्डारण प्रणाली स्थापना गर्न लागेको छ।
संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (यूएनआईडीओ) को सहयोगमा अघि बढाइएको यो परियोजनालाई नेपालमा हालसम्मकै ठूलो ऊर्जा भण्डारण प्रणालीका रूपमा प्रस्तुत गरिएको छ। यस्तो प्रणालीले सोलारबाट उत्पादित विद्युत् भण्डारण गरी आवश्यक समयमा उपयोग गर्न सहयोग पुर्याउँछ।
सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने पनि विद्युत् खर्च घटाउन उद्योगहरूले छत र खाली जमिनमा सोलार जडान गर्न थालेको बताउँछन्। उनका अनुसार घामको उपलब्धता पर्याप्त भएकाले दिउँसो सोलारबाट सहजै विद्युत् उत्पादन गर्न सकिन्छ। प्राधिकरणको विद्युत् महसुलको तुलनामा सोलारबाट उत्पादन हुने विद्युत् सस्तो पर्ने अवस्थामा यसले उद्योगको कुल लागत घटाउन मद्दत गर्छ।
‘विद्युत् प्राधिकरणबाट बिजुली खरिद गर्दाभन्दा सोलार प्रयोग गर्दा धेरै नै सस्तो पर्छ, जसले गर्दा उत्पादन वा उपभोगको कुल लागत कम हुन जान्छ,’ न्यौपानेले भने, ‘घर वा उद्योगको छाना र खाली जमिनमा सोलार राखेर घाम लागेको समयमा सहजै ऊर्जा लिन सकिन्छ।’
म्याजिक चप्पल उत्पादन गर्ने कम्पनी जय श्री ग्रुपका सञ्चालक अनुज पोद्दारले पनि वातावरणमैत्री र लागतका हिसाबले किफायती भएकाले सोलार आयोजना जडान गरेको बताए। उनका अनुसार सोलार नवीकरणीय ऊर्जा भएकाले वातावरणीय प्रभाव कम गर्न सहयोग पुग्छ भने प्राधिकरणबाट खरिद गर्ने विद्युतको तुलनामा लागत घटाउन सकिने सम्भावना पनि रहन्छ।
विद्युत् प्राधिकरणले सौर्य ऊर्जाबाट उत्पादित विद्युत् खरिद पनि गर्दै आएको छ। तर उद्योगीहरूको प्राथमिकता आफ्नै परिसरमा सोलार जडान गरेर आवश्यक विद्युतको केही हिस्सा आफैं उत्पादन गर्नु रहेको छ। यसले प्राधिकरणबाट खरिद गर्नुपर्ने विद्युत् घटाउनुका साथै आपूर्तिमा समस्या आउँदा वैकल्पिक स्रोत उपलब्ध गराउन सक्छ।
सोलारप्रतिको आकर्षण बढ्नुमा यसको आर्थिक पक्षसँगै नेपालको ऊर्जा उत्पादनको मौसमी संरचनाले पनि भूमिका खेलेको छ। अधिकांश जलविद्युत् आयोजना नदीको बहावमा आधारित छन्। हिउँदमा नदीमा पानीको बहाव घट्दा जलविद्युत् उत्पादनमा कमी आउने गर्छ। तर यही समयमा घामको उपलब्धता तुलनात्मक रूपमा राम्रो हुने भएकाले सोलार उत्पादन बढाउन सकिन्छ।