तपाईं फेसबुकमा एउटा जुत्ताको तस्बिर हेर्नुहुन्छ। केही समयपछि इन्स्टाग्राम खोल्दा त्यस्तै जुत्ताको विज्ञापन देखिन्छ। तपाईंले अनलाइनमा कुनै सामान खोज्नुभएको हुन्छ र त्यससँग सम्बन्धित विज्ञापन अन्य वेबसाइट वा एपमा पनि देखिन थाल्छ। यो अहिले हामी धेरैले भोगिरहेको परिदृश्य हो।
डिजिटल प्लेटफर्महरुले प्रयोगकर्ताको गतिविधिसम्बन्धी विभिन्न जानकारीका आधारमा विज्ञापन देखाउन सक्छन्। तर, के तपाईंहरुले कहिलै प्रश्न गर्नु भएको छ : हाम्रो कुन कुन जानकारी संकलन भइरहेको छ? ती डेटा कसरी प्रयोग हुन्छ? त्यसबारे हामीलाई जानकारी दिइएको छ?
यिनै प्रश्नहरु अहिले विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक मेटा विरुद्ध अमेरिकाको न्यु मेक्सिको राज्यको अदालतमा उठेको थियो।
अक्टोबर २१ मा न्यु मेक्सिकोको अदालतले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता सर्वाधिक प्रयोग हुने प्लेटफर्मको मातृ कम्पनी मेटालाई प्रयोगकर्ताको व्यक्तिगत डेटासम्बन्धी भ्रामक अभिव्यक्ति दिएको विषयमा २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ।
नेपाली रुपैयाँमा हालको विनिमय दर अनुसार यो करिब ३३ खर्बभन्दा बढी हुन आउँछ। डेटा गोपनीयता र व्यापारिक अभ्यासमाथि जोडिएको यो फैसलाको विरुद्ध मेटाले भने पुनरावेदन गर्ने बताएको छ।
व्यापारमा प्रयोगकर्ताको डेटा किन महत्त्वपूर्ण?
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप मेटाका प्रमुख प्लेटफर्म हुन्। यी माध्यमबाट मानिसहरु फोटो, भिडियो, सन्देश र समाचार आदानप्रदान गर्छन्। तर, मेटाको व्यापार केवल मानिसहरुलाई एकअर्कासँग जोड्ने काममा मात्रै सीमित छैन। विज्ञापन पनि यसको आम्दानीको प्रमुख स्रोत हो।

उदाहरणका लागि काठमाडौंमा एउटा कपडा पसलले आफ्नो नयाँ उत्पादनको विज्ञापन सामाजिक संजालमा देखाउन चाहन्छ। पसलले विज्ञापनका लागि पैसा तिर्छ र निश्चित उमेर समूह, रुचि वा स्थानका मानिससम्म विज्ञापन पुर्याउन खोज्छ। प्लेटफर्मले उपलब्ध डेटा र विज्ञापन प्रणालीको मद्दतले उपयुक्त दर्शक छान्न सक्छ।
यसरी विज्ञापनदाताले सम्भावित ग्राहकसम्म पुग्न सक्छन् भने प्लेटफर्मले आम्दानी गर्छ।
तर, यस प्रक्रियामा प्रयोगकर्ताको जानकारी कसरी संकलन गरिन्छ, कुन प्रयोजनका लागि प्रयोग हुन्छ र तेस्रो पक्षसँग कस्तो अवस्थामा साझा गरिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ। यी विषयहरु मेटा जस्तै अन्य टेक जायन्टहरुमाथि बारम्बार उब्जिरहेको प्रश्न हुन्।
डेटा विशेषज्ञहरुका अनुसार सामाजिक संजालमा विज्ञापन देखाइनुमात्रै समस्या होइन। प्रयोगकर्तालाई आफ्नो डेटाबारे के भनिएको थियो र व्यवहारमा के भइरहेको छ भन्ने मूल प्रश्न भएको उनीहरु बताउँछन्।
अदालतले के ठहर गर्यो?
न्यु मेक्सिको राज्यले मेटाले प्रयोगकर्ताको डेटा संकलन, सुरक्षा, प्रयोग र साझेदारीबारे भ्रामक अभिव्यक्ति दिएको आरोप लगाएको थियो। त्यस्तै, गलत सूचना र घृणास्पद अभिव्यक्तिलाई रोक्ने आफ्ना प्रयासबारे पनि कम्पनीले सर्वसाधारणलाई भ्रममा पारेको राज्यको दाबी थियो।
सेप्टेम्बर २५ मा सार्वजनिक गरिएको विवरणअनुसार जुरीले फेसबुकले राज्यको उपभोक्ता संरक्षण कानुन ४ करोड ३८ लाखभन्दा बढी पटक उल्लंघन गरेको ठहर गरेको थियो। त्यसपछि अक्टोबर २१ मा अदालतले २५ अर्ब डलर जरिवाना तोकेको हो।
यो फैसला सँगै अहिले विश्वकै शक्तिशाली कम्पनीमध्ये एक भए पनि उसले उपभोक्तालाई दिने जानकारी सत्य र स्पष्ट हुनुपर्ने नजिर स्थापना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा उल्लेख छ
मेटाले भने अदालतको निर्णयसँग असहमति जनाएको छ। कम्पनीले यो मुद्दाले अनलाइनमा के भन्न पाइन्छ भन्ने विषयमा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित प्रश्नसमेत उठाउने तर्क गरेको छ। त्यसैले मेटा पुनरावेदन प्रक्रियामा जाने भएको हो।
मेटाले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जुलाईदेखि सेप्टेम्बर २०२६ सम्म कम्पनीको आम्दानी करिब ६४.६ अर्ब डलर थियो। त्यस अवधिको खुद नाफा करिब ९.९ अर्ब डलर थियो।
यस आधारमा २५ अर्ब डलरको जरिवाना कम्पनीको उक्त त्रैमासिक आम्दानीको करिब ३९ प्रतिशत र खुद नाफाको करिब २.५ गुणा बराबर हुन आउने जनाइएको छ।
मेटाविरुद्धको मुद्दा व्यक्तिगत डेटामा मात्र सीमित छैन। न्यु मेक्सिको राज्यले गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्ने कम्पनीका प्रयासबारे दिइएका विवरणसमेत भ्रामक रहेको आरोप लगाएको थियो।

एआईमा बढ्दो लगानी
अदालतको यो निर्णय तब आएको जब जब कम्पनीले आर्टिफिसियल इन्टिलिजेन्सको क्षेत्रमा थप लगानी गरिरहेको छ।
मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले एआईलाई कम्पनीको भविष्यको महत्त्वपूर्ण आधार भनेका छन्। उनले एआई नियमनबारे चलेको बहसमा पनि फरक विचार राखेका थिए।
मेटाले अहिले आफ्नो नयाँ एआई ‘म्युज’ सहितका नयाँ क्षेत्रमा काम गरिरहेको छ।
मेटाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२६ मा कम्पनीले एआईसम्बन्धी पूर्वाधार र प्रविधिमा ठूलो रकम खर्च गर्ने योजना बनाएको छ। कम्पनीले यस वर्षको पुँजीगत खर्च १३० अर्बदेखि १४५ अर्ब डलरसम्म हुने अनुमान गरेको छ।
एआई संचालन गर्न शक्तिशाली कम्प्युटर, डेटा सेन्टर, चिप, विद्युत् र दक्ष जनशक्ति आवश्यक पर्छ। मेटा अहिले सफ्टवेयरमा मात्रै होइन त्यसका लागि भौतिक पूर्वाधार निर्माण गर्न पैसा खर्च गरिरहेको छ।
सन् २०२६ को तेस्रो त्रैमासिकमा कम्पनीको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले बढेर ६४.६ अर्ब डलर पुगेको थियो। खुद नाफा भने अघिल्लो वर्षको २.७ अर्ब डलरबाट बढेर करिब ९.९ अर्ब डलर पुगेको थियो।
तर सोही त्रैमासिकमा कम्पनीको कुल खर्च ६८ प्रतिशतले बढेर ५१.६ अर्ब डलर पुगेको थियो। एआईमा ठूलो लगानी र कानुनी दायित्वले कम्पनीको वित्तीय योजनालाई थप चुनौतीपूर्ण बनाएको विभिन्न संचारमाध्यममा उल्लेख छ।
कम्पनीले उक्त त्रैमासिकमा २.१२ अर्ब डलर ‘नेगेटिभ फ्री क्यास फ्लफ’ पनि रिपोर्ट गरेको थियो
जानकारहरुका अनुसार अहिले कम्पनीको आम्दानीभन्दा कुल खर्च बढी छ। ठूलो आम्दानी र नाफा भएको कम्पनीले पनि भविष्यको प्रविधिमा आक्रामक लगानी गरिरहेको छ। त्यसैले, आउने दिनहरुमा प्रयोगकर्ताको डेटामाथि सामाजिक संजाल प्लेटफर्महरुको पहुँच थप बढ्ने विज्ञहरु बताउँछन्।