काठमाडौं । काठमाडौं महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।
कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछ।
फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि काठमाडौंस्थित अमेरिकी र अष्ट्रेलियन दूतावास, युनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ।
यसैगरी, विद्युतीय टिकटतर्फ ‘हिमालय पे’सँग सम्झौता भएको छ। दर्शकहरुका लागि फिल्म प्रदर्शन निःशुल्क हुने र सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ।
सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौं म्याराथन), आतिथ्यताका लागि होटल एसोसिएनसन अफ नेपाल (हान) र नेपाल पर्वतारोही सङ्घ (माउन्टेरिङ एसोसिएसन)सँग कार्यक्रम व्यवस्थापनका लागि माब्रिक्स र आइएसएससँग सम्झौता भइसकेको महानगरपालिकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
फेस्टिभल शुभारम्भका अवसरमा ‘भिडियो च्यालेञ्ज’बाट छानिएको एउटा लघु चलचित्र र पुरानो चलचित्र सिन्दूरको खुला प्रदर्शन हुनेछ। नयाँसडक–जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा प्रदर्शन हुने चलचित्र हेर्न सर्वसाधारण सबैलाई खुला आह्वान गरिएको छ।
फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन्। यस्तै महानगरपालिकाले आह्वान गरेको ‘युथ भिडियो च्यालेञ्ज’ का विजेताहरुलाई अवार्ड र ‘नेपाल पानोरमा’ बाट छानिएका लाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवादहरु संचालन हुनेछन्। कात्तिक ८ गते आइतबार वसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ। नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा ‘रेड कार्पेट’ कार्यक्रम आयोजना हुनेछ।
काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योग प्रवद्र्धनको माध्यमका रुपमा विकास र विस्तार गरिरहेको जनाएको छ। मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेसाकर्मी, सङ्घसंस्था तथा महोत्सव आयोजकसँग जोड्ने काम भइरहेको छ।