अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्न सक्ने बताएका छन्।
युक्रेनले अमेरिकाको आलोचना गरिरहँदा उनले आगामी महिना चीनमा सी र पुटिनसँग भेट्न सक्ने बताएका हुन्। तर, हालसम्म सो बैठक बस्नेबारे कुनै पनिस औपचारिक निर्णय सार्वजनिक भने भएको छैन।
उनले सो सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकेत गरेका छन्।
पछिल्लो समय ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गरिरहेका छन्। उनले युक्रेनको तर्फबाट अरु कसैले वार्ता गर्नुपर्ने टिप्पणी समेत गरेका छन्।
अमेरिकाले किभलाई दिँदै आएको सहयोग कटौती गर्दै लगेको छ। जेलेन्सकीले युद्ध रोक्ने र वार्ताको माध्यमबाट संवाद गर्ने प्रक्रियालाई आफ्नै उद्देश्यले मात्र चलाउन खोजेको ट्रम्पको बुझाइ छ। विश्लेषकहरुले त्यसैले युक्रेनबारे अमेरिकाको नीति परिवर्तन हुन सक्ने समेत बताउँदै आएका छन्।
चीनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिका, चीन र रसियाका नेताहरुबीच त्रिपक्षीय बैठक हुन सक्ने सम्भावनाबारे अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा भइरहेको छ। ट्रम्पको अभिव्यक्तिले सो बैठकबारे थप चासो बढाएको छ।
नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सो सम्मेलनमा तीनै देश सहभागी हुँदैछन् ।
युक्रेनले भने आफ्नो सहभागिता बिना कुनै पनि पक्षले गर्ने सहमति मान्य नहुने बताउँदै आएको छ।