चीनको अर्थतन्त्रले पछिल्लो त्रैमासिकमा अपेक्षाभन्दा द्रुत गतिमा प्रगति गरेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चीनले एआईको माग बढेसँगै चीनको आर्थिक अवस्था थप बलियो बनिरहेको छ।
चीनको राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाईदेखि सेप्टेम्बरको तेस्रो त्रैमासिक अवधिमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.५ प्रतिशतले बढेको छ।
यो दोस्रो त्रैमासिकको ४.३ प्रतिशत वृद्धिको तुलनामा बढी हो। धेरै विश्लेषकहरूको अनुमानभन्दा यो राम्रो नतिजा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
सन् २०२६ को पहिलो ९ महिनामा चीनको जीडीपी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.६ प्रतिशतले बढेको छ। त्यस्तै, आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित प्रविधिको निर्यातमा आएको तीव्र उछालका कारण पनि चीनलाई फाइदा पुगेको छ।
सेमिकन्डक्टर र अन्य प्रविधिसम्बन्धी सामानको माग उच्च भएपछि पहिलो ९ महिनामा चीनको निर्यात १६ प्रतिशतभन्दा बढीले बढेर २३.१९ अर्ब युआन पुगेको छ।
प्रविधि निर्यात बढे पनि चीनको आन्तरिक उपभोग र घरजग्गा क्षेत्र भने अझै सुस्त अवस्थामा छ। घरजग्गा क्षेत्रको लगानी घटेको छ र आन्तरिक खुद्रा बिक्रीमा मध्यम सुधार मात्र देखिएको छ।
चीन सरकारले यस वर्षका लागि ४.५ देखि ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। विश्लेषकहरूका अनुसार आन्तरिक माग कमजोर रहे पनि निर्यातको बलमा चीनले आफ्नो आर्थिक लक्ष्य भेट्टाउने दिशामा अघि बढिरहेको छ।