काठमाडौं । भारतको मुम्बईस्थित जुहूमा आइतबार साँझ बलिउड अभिनेता टाइगर श्रोफमाथि गोली प्रहार भएको छ।
एक फुटसल मैदानबाट खेल खेलेर बीएमडब्ल्यू कारमा फर्कने क्रममा मोटरसाइकलमा आएका तीनजना अज्ञात आक्रमणकारीहरुले उनीमाथि गोली प्रहार गरेका हुन्।
आक्रमणकारीहरुले गाडीको विन्डस्क्रीन र साइड विन्डोबाट पाँच राउन्डभन्दा बढी गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनीहरुले गोली चलाएको भिडियो अहिले सामाजिक संजालमा भाइरल छ।
‘पोइन्ट ब्ल्यांक रेन्ज’ बाट छैटौं राउन्ड गोली हान्न खोज्दा आक्रमणकारीको बन्दुक ‘ज्याम’ भएपछि टाइगर श्रोफ सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
आक्रमणमा अभिनेता श्रोफलाई सामान्य चोट लागेको छ। उनका कार चालक फिरदौस र नजिकै रहेका अर्का एक व्यक्ति घाइते भएका छन्। चालक घाइते भएपछि टाइगर आफैं प्यासेन्जर सिटबाट ड्राइभिङ सिटमा सरेर गाडी चलाएको भिडियोमा देख्न सकिन्छ।
घटनाको केही समयपछि लरेन्स बिश्नोई गिरोहका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएका छन्। सलमान खानसँग नजिक रहेर काम नगर्न दिइएको चेतावनीलाई उपेक्षा गरेकाले टाइगरलाई निशाना बनाइएको उनको दाबी छ।
हजारौं मानिसको बीच भएको यो घटना पछि महाराष्ट्र सरकार चनाखो भएको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्णावीसले सुरक्षा अवस्था मूल्यांकन गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।
त्यस्तै, उपमुख्यमन्त्री एकनाथ सिंधेले टाइगरलाई उनकै घर पुगेर भेटेका छन्। उनले पनि दोषीलाई कारबाही हुने र सुरक्षा व्यवस्था मिलाइने बताएका छन्।
मुम्बई प्रहरीले घटनाको अनुसन्धानका लागि विभिन्न टोली परिचालन गरेको छ। एक जना संदिग्धलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।