काठमाडौं । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को. १ ज २९७६ नम्बरको टाटा सुमो गाडी दुर्घटना भएको छ।
कार्तिक १ गते रातको करिब २ः३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा गाडीले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
गाडी करिब २०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको जनाइएको छ। दुर्घटनास्थलमा ३ जना महिलाको शव फेला परेको छ भने चालकसहित ४ जना घाइतेको उद्धार गरिएको छ।
३ जना यात्रु सुनकोशी नदीमा बेपत्ता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। दुर्घटनालगत्तै प्रहरी चौकी रत्नावती, खाङसाङ र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। बेपत्ताहरुको खोज, उद्धार र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरुको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा उपचार भइरहेको छ। दुर्घटनामा आशिष बिष्ट, सम्झना राई, सिवानी राई, अंकित बि.क रहेको जनाइएको छ।