BIZMANDU
www.bizmandu.com

नेपालीको ‘स्पेन्डिङ सिजन’ : दसैंमा बिक्री उच्च हुने १० वस्तु के-के हुन्?

२०८३ कात्तिक १

नेपालीको ‘स्पेन्डिङ सिजन’ : दसैंमा बिक्री उच्च हुने १० वस्तु के-के हुन्?
नेपालीको ‘स्पेन्डिङ सिजन’ : दसैंमा बिक्री उच्च हुने १० वस्तु के-के हुन्?


काठमाडौं। दसैं भन्नेबित्तिकै नेपालीको मनमा सबैभन्दा पहिले आउने दुई कुरा हुन्, नयाँ नाना र मिठो खाना। परम्पराअनुसार आर्थिक अवस्था जस्तोसुकै भए पनि दसैंमा नयाँ लुगा लगाउने र मीठो-मसिनो खाने चाहना हरेक परिवारमा हुन्छ। यही परम्पराले दसैंलाई धार्मिक तथा सांस्कृतिक पर्वसँगै नेपालको सबैभन्दा ठूलो उपभोग र व्यापारको सिजनसमेत बनाएको छ।

GBIME
Tata

तर पछिल्ला वर्षमा नेपाली उपभोक्ताको खर्च गर्ने शैलीमा पनि परिवर्तन आएको छ। दसैं अब कपडा र मासुमा मात्रै सीमित छैन। नयाँ घरदेखि कार, मोटरसाइकल, विद्युतीय सवारी, मोबाइल, टेलिभिजन, फ्रिज, वासिङ मेसिन लगायतका इलेक्ट्रोनिक्स तथा घरायसी सामान जोड्ने समयका रूपमा समेत दसैं स्थापित हुँदै गएको छ।

व्यवसायीका लागि पनि दसैं वर्षकै महत्त्वपूर्ण बिक्री सिजन हो। ग्राहक तान्न व्यवसायीले डिस्काउन्ट, क्यासब्याक, एक्सचेन्ज, किस्ताबन्दी, उपहार र ‘दसैं अफर’ सार्वजनिक गर्ने गर्छन्। यस्ता योजनाले उपभोक्ताको खरिद निर्णयलाई प्रभावित पार्नुका साथै दसैंको समयमा बजारमा माग र कारोबार दुवै बढाउने गर्छ।

खाद्यान्नदेखि लत्ताकपडा, मासुदेखि मोबाइल, जुत्ताचप्पलदेखि सवारीसाधन र सुनचाँदीसम्मका वस्तुको बिक्री दसैंमा बढ्ने गर्छ। अर्थात्, दसैं नेपाली उपभोक्ताको ‘स्पेन्डिङ सिजन’ बन्ने गरेको छ।

दसैंमा नेपाली उपभोक्ताको सबैभन्दा बढी खर्च हुने प्रमुख १० वस्तु यस्ता छन्।

लत्ताकपडा

दसैंमा सबैभन्दा ठूलो उपभोग हुने वस्तुमध्ये लत्ताकपडा अग्रस्थानमा रहन्छ। दसैंमा नयाँ कपडा लगाउने परम्पराका कारण दौरा सुरवाल, टी–सर्ट, सर्ट, पाइन्ट, कुर्ता–सुरुवाल, सारी, बालबालिकाका कपडा तथा तयारी पोसाकको माग उच्च हुन्छ। दसैंलाई लक्षित गरेर स्वदेशी गार्मेन्ट उद्योगहरुले पनि उत्पादन बढाउने गरेका छन्।

अहिले कपडाको बिक्रीमा भौतिक पसलसँगै अनलाइनमार्फत हुने बिक्री पनि बढेको देखिन्छ। विगतका वर्षमा जस्तै यस वर्ष पनि देशभरका होलसेल तथा रिटेल व्यवसायीले विभिन्न छुट अफरहरु ल्याएका छन् भने विभिन्न अनलाइन प्ल्याटफर्म, फेसबुक, टिकटक र इन्स्टाग्राममार्फत पनि छुट तथा बिक्री प्रवर्धन गरिरहेका छन्।

गत वर्ष जेनजी आन्दोलनपछि खुद्रा तथा थोक व्यापार, लत्ताकपडा र घरायसी सामानको कारोबारमा ठूलो गिरावट आएको थियो। यस वर्ष भने माग फर्किने अपेक्षाबीच आपूर्ति पक्ष चुनौतीपूर्ण बनेको छ।

लगातारको वर्षा र सडक अवरोधका कारण चीन तथा भारतबाट आउने लत्ताकपडा तथा जुत्तालगायतका सामान रोकिँदा बजारमा आपूर्ति प्रभावित भएको छ।

खाद्यान्न तथा किराना सामग्री

दसैंमा लामो विदा हुने, परिवार आफन्त जमघट भएर मिठा मिठा परिकार बनाएर खाने र खुवाउने प्रचलन बढी हुन्छ। यसले गर्दा चामल, तेल, घिउ, चिनी, पीठो, दाल तथा मसलाको बिक्री बढ्छ।

विशेषगरी दसैं सुरु हुनुअघि नै उपभोक्ताले घरायसी खाद्यान्नको जोहो गर्ने भएकाले किराना पसल, सुपरमार्केट तथा थोक बजारमा कारोबार बढ्ने गर्छ।

मासु, खसीबोका तथा च्याङ्ग्रा

दसैंको सबैभन्दा विशिष्ट उपभोग्य वस्तु मासु हो। खसी, बोका, च्याङ्ग्रा, राँगा तथा कुखुराको मासुको माग तीव्र रूपमा बढ्छ। यस वर्ष २०८३ मा काठमाडौं उपत्यकामा मात्रै दसैंका लागि करिब ४० हजार चौपायाको माग हुने अनुमान गरिएको छ।

बजारमा आपूर्ति कम हुँदा जिउँदो खसीको मूल्य गत वर्षको दसैंको तुलनामा बढेर प्रतिकिलो ८५० रुपैयाँसम्म पुगेको रिपोर्ट गरिएको छ। जुन गत वर्षको दसैंको तुलनामा १०० रुपैयाँ बढी हो।

गत वर्ष उपत्यकामा ३० हजारभन्दा बढी खसीबोका र करिब ५ हजार भेडा–च्याङ्ग्रा बिक्री हुने गरेको थियो। आपूर्ति पर्याप्त हुन नसके दसैंमा मूल्य अझ बढ्न सक्ने व्यवसायीको अनुमान छ।

यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समेत खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएकाले मासुको बजारमा निजी क्षेत्रकै आपूर्तिमा बढी निर्भर हुनुपर्ने अवस्था छ।

जुत्ता-चप्पल

नयाँ कपडासँगै नयाँ जुत्ता तथा चप्पल किन्ने चलनका कारण दसैंमा फुटवेयरको कारोबार पनि उल्लेख्य बढ्छ। गत वर्षको तथ्यांकअनुसार दसैं–तिहार–छठको अवधिमा मात्रै वार्षिक कारोबारको करिब ३० प्रतिशत जुत्ताचप्पल बिक्री हुने व्यवसायीको अनुमान थियो।

त्यतिबेला करिब ५ करोड जोडीसम्म बिक्री हुने अनुमान गरिएको थियो।

मोबाइल तथा इलेक्ट्रोनिक्स

दसैंमा नयाँ मोबाइल किन्ने तथा घरायसी इलेक्ट्रोनिक्स अपग्रेड गर्ने प्रवृत्ति बढ्दो छ। स्मार्टफोनसँगै टेलिभिजन, फ्रिज, वासिङ मेसिन, ल्यापटप तथा अन्य ग्याजेटको बिक्री बढ्छ।

मोबाइल तथा विभिन्न इलेक्ट्रोनिक्स ब्रान्डहरुले दसैं–तिहारलाई लक्षित गरेर छुट, किस्ताबन्दी, क्यासब्याक र उपहार योजना ल्याउने गरेका छन्। उक्त अफरको फाइदा उठाउँदै उपभोक्ताहरुले पनि यही समयमा सामान खरिद गर्ने गर्दछन्। मोबाइलको बजार भने दसैंमा मात्रै निर्भर छैन। वर्ष भरीनै यसको माग उच्च हुने गरेको देखिन्छ।

मोटरसाइकल, स्कुटर तथा कार

दसैं नेपाली अटोमोबाइल बजारको प्रमुख बिक्री सिजन हो। विशेषगरी मोटरसाइकल र स्कुटरको माग बढ्छ भने कार तथा विद्युतीय सवारीमा पनि ग्राहक आकर्षित हुन्छन्।

दसैंलाई लक्षित गरेर कम्पनी तथा डिलरले डाउनपेमेन्ट छुट, ब्याजमा सहुलियत, एक्सचेन्ज तथा विभिन्न उपहार योजना ल्याउने भएकाले यो समयमा खरिद गर्ने उपभोक्ता बढ्छन्।

गत वर्ष दसैं–तिहारमा मात्रै व्यवसायीले ३ हजार पाँचसय भन्दा बढी गाडी डेलिभरी गरेका थिए। उक्त अवधिमा १४ अर्ब रुपैयाँभन्दा बढीको गाडी बिक्री भएको व्यवसायीहरूको तथ्यांक थियो।

सामान्य अवस्थामा दसैं–तिहारमा वर्षभरि बिक्री हुने गाडीको करिब ४० प्रतिशत डेलिभरी हुने गरेको भए पनि चीनबाट आउने विद्युतीय सवारीको ढुवानीमा सडक तथा नाका अवरोधले यस वर्ष आपूर्तिमा चुनौती देखिएको छ।

पछिल्लो बजार रिपोर्टले पनि दसैंमा सवारीसाधनको बिक्री उच्च हुने देखाएको थियो तर भदौ १० को भोटेकोशी बाढी र लगातारको वर्षाका कारण बाटो अवरुद्ध हुँदा यो वर्ष चीनबाट आयात गरिने सवारीमा समस्या देखिएको छ। व्यसायीले पनि यो वर्ष ग्राहकको मागअनुसारको सवारी उपलब्ध गराउन समस्या भएको बताएका छन्।

मदिरा तथा पेय पदार्थ

दसैंमा आफन्त तथा साथीभाइको जमघट बढ्ने भएकाले चिसो पेय पदार्थ, बियर, वाइन तथा अन्य मदिराजन्य पेयको माग पनि बढ्छ।

यसलाई खाद्य तथा लत्ताकपडाजस्तो अनिवार्य उपभोग्य वस्तुको श्रेणीमा राख्न नमिल्ने भए पनि दसैंको सामाजिक जमघटसँग जोडिएको ठूलो उपभोग्य वस्तुको बजारका रूपमा यसलाई हेर्न सकिन्छ।

सुनचाँदी तथा गरगहना

दसैं–तिहार आसपास सुनचाँदी तथा गरगहनाको मागमा पनि वृद्धि हुन्छ। विशेषगरी नयाँ गहना खरिद, पारिवारिक कार्यक्रम तथा लगानीका लागि सुन खरिद गर्ने चलनले बजारलाई प्रभावित गर्छ।

तर सुनको मूल्य उच्च भएका कारण माग बढ्नु र कारोबारको परिमाण बढ्नु एउटै कुरा होइन। त्यसैले यसलाई बिक्री रकमका आधारमा हेर्दा महत्वपूर्ण बजार मान्न सकिन्छ।

फलफूल, मिठाई तथा ड्राइ फ्रुट्स

दसैंमा घर–घरमा पाहुना तथा आफन्तको आवतजावत बढ्ने भएकाले स्याउ, सुन्तला, केरा, किबी, मिठाई, काजु, बदाम, पेस्ता, ओखर तथा किसमिसको माग बढ्छ।

विशेषगरी आफन्तकहाँ जाँदा कोसेली लैजाने चलनले ड्राइ फ्रुट्स तथा मिठाईको बिक्रीलाई दसैं–तिहारको महत्वपूर्ण मौसमी बजार बनाएको छ।

काजु, बदाम, पेस्ता, ओखर, किसमिसलगायतका ड्राइ फ्रुट्स कोसेलीका रूपमा प्रयोग हुने भएकाले दसैंदेखि तिहारसम्म यसको बिक्री बढ्छ। यो बजार कपडा वा खाद्यान्नजस्तो ठूलो मौद्रिक आकारको नदेखिए पनि दसैं–तिहारको मौसमी उपभोग बजारमा महत्वपूर्ण हिस्सा राख्छ।

घरायसी तथा पूजा–सजावटका सामग्री

दसैंअघि घर सफा गर्ने, रंगरोगन गर्ने र नयाँ सामान जोड्ने प्रवृत्तिका कारण किचन सामग्री, होम अप्लायन्सेस, पर्दा, भित्ते सजावट, रंगरोगनका सामग्री तथा पूजा सामग्रीको बिक्री पनि बढ्छ ।

दसैंको मुख्य बजार लत्ताकपडा, खाद्यान्न र मासुमा केन्द्रित भए पनि मोबाइल–इलेक्ट्रोनिक्स, सवारीसाधन, जुत्ताचप्पल, पेय पदार्थ, सुनचाँदी र घरायसी सामानले पनि चाडपर्वको कारोबारलाई ठूलो आकार दिने गरेका छन्।