BIZMANDU
www.bizmandu.com

एनएसएलका क्लब मिलेर नेपाल फुटबल लिग गराउँदै, ललितपुर सिटीका सञ्चालक कल्याण अध्यक्ष

२०८३ असोज ३०

एनएसएलका क्लब मिलेर नेपाल फुटबल लिग गराउँदै, ललितपुर सिटीका सञ्चालक कल्याण अध्यक्ष
एनएसएलका क्लब मिलेर नेपाल फुटबल लिग गराउँदै, ललितपुर सिटीका सञ्चालक कल्याण अध्यक्ष


काठमाडौं। नेपाली फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)का क्लबहरु मिलेर नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने तथा खेल्ने भएका छन्। सेप्टेम्बर ५ मा एनएसएल आयोजना गर्ने भनेर यसअघि घोषणा गरिएको भए पनि बिना सूचना निर्धारित मितिमा लिग हुन सकेन।  

GBIME
Tata

‘एनएफएल विल्कुलै नयाँ प्रतियोगिता हो। हामी इतिहासबाट पाठ सिक्दै यो चुनौतीपूर्ण घडीमा अन्यौलतालाई चिर्दै अगाडि बढ्ने प्रयासमा छौं,’ एनएफएलका अध्यक्ष कल्याण गुरुङले भने, ‘हाम्रो एउटै उद्देश्य छ, नेपाली फुटबललाई पूर्ण व्यवसायिक बनाउने। हामीलाई यो गन्तव्यमा पुग्नको लागि समय लाग्छ नै। त्यसैले लक्ष्यप्राप्तिका लागि हामी हरपल मेहिनेत गर्नेछौं।’

यो प्रतियोगिता यही वर्षको फागुन १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको क्लबहरुले जनाएका छन्।

‘एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका पुराना ७ क्लबसहित थप गरिने नयाँ टिमहरूले प्रतिस्पर्धा गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी घरेलु फुटबलका पुरानै क्लब हुन्।’

यी बाहेक पनि अन्य विभिन्न शहरका टोली थप्ने तयारी रहेको आयोजकले जनाएको छ। ‘रंगशालाको उपलब्धताअनुरुप एनएफएलमा होम एन्ड अवेको आधारमा खेल सञ्चालन गरिने छ। तयारी अवधिसहित हिसाब गरी एनएफएल ४ महिना चल्नेछ। यसले देशव्यापी रुपमा फुटबलको माहोल सिर्जना गर्ने विश्वास गरेका छौं।’ गुरुङले विज्ञप्तिमा भनेका छन्।

क्लबहरुले लिग खेल्ने तयारी गरिरहँदा नेपाली फुटबल भने फिफाको निलम्बनमा छ। क्लबहरुले लिग सञ्चालनका लागि छुट्टै इण्डिपेन्डेन्ट कमिटी बनाउने जनाएका छन्।

‘क्लबहरूकै अग्रसरतामा घरेलु फुटबललाई नयाँ उचाई दिने योजनासहित एनएफएलमा एकजुट भएका हौं। क्लबहरूको साझा संस्था हो, नेपाल फुटबल लिग,’ क्लबहरुको दाबि छ, ‘त्यसैले एनएफएलले नै लिगको आयोजना गर्नेछ । र, क्लबहरू लिगको सदस्यका रुपमा रहँदै एनएफएल खेल्नेछन्। प्रतियोगिता निश्पक्ष ढंगले सञ्चालन गर्नको लागि बेग्लै इण्डिपेन्डेन्ट कमिटी बनाइनेछ।’