काठमाडौं। सरकारले बूढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित गोरखाका तीन गाउँपालिका तथा धादिङको एक पालिकाका दुई वटा वडालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखाका चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ र २ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
यस्तै असोज ८ गतेदेखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङका थप दुई वटा स्थानीय तह गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई पनि तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार ती स्थानीय तहका क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा ६ महिनाका लागि तत्काल राहतस्वरूप ४ जनासम्म सदस्य भएका परिवारलाई प्रति महिना १५ हजार र त्यसभन्दा बढी सदस्य भएका परिवारलाई प्रति सदस्य थप २ हजार रुपैयाँ दिने निर्णय भएको छ।
बैठकले जापान सरकारबाट २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मनीबाट २० मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।